कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले नियुक्त भएको ६ महिनामा ६ लाख बढी रकम भ्रमण भत्ताका रूपमा बुझेका छन्।
२०७४ फागुन ६ गतेदेखि असार मसान्तसम्म मन्त्रीहरूले ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण भत्ता बुझेका हुन्।
जसमध्ये सबैभन्दा बढी कृषि मन्त्रीले बुझेकी छन् भने सबैभन्दा कम सामाजिक विकास मन्त्रीले बुझेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले १ लाख ४८ हजार २ सय २५ रुपैयाँ बुझेकी छन् भने सामाजिक विकास मन्त्री दल रावलले ४ हजार ५ सय रुपैयाँ बुझेका छन्।
यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले १ लाख २९ हजार ३ सय रुपैयाँ बुझेका छन् भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार ६ सय रुपैयाँ बुझेका छन्। यसैगरी, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५ रुपैयाँ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढाले ७२ हजार ४ सय २५ रुपैयाँ र भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले ६४ हजार ७ सय २५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन्।
सरकारले मुख्यमन्त्रीको दैनिक भ्रमण भत्ता २५ सय र मन्त्रीहरूको २ हजार तोकेको छ।