प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले योजना आयोग सदस्यमा डाक्टर विष्णुप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ बसेको बैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो। गुल्मी घर भएका गौतमले कंक्रिट व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।
सरकारका प्रवक्ता भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको र यसक्षेत्रकै समस्याको रूपमा रहेको सिद्धबाबाको पहिरो व्यवस्थापनलाई समेत महत्व दिएर कंक्रिट व्यवस्थापन विज्ञ रहेका गौतमलाई सदस्यमा नियुक्त गरेको जानकारी दिए।
चार सदस्यीय आयोगको उपाध्यक्षमा यसअघि नै डाक्टर प्रकाश श्रेष्ठ नियुक्त भइसकेका छन् । आयोगका अन्य दुई सदस्य पद अझै खाली छ। अन्य २ सदस्यको खोजी भईरहेको मन्त्री चौधरीले जानकारी दिए ।
बैठकले प्रदेश ५ को सार्वजनिक खर्च मापदण्ड कार्यविधि र मितब्ययीता सम्बन्धी निर्देशिका २०७५ पनि स्वीकृत गरेको छ। निर्देशिकाले मुख्यमन्त्री, मन्त्री र कर्मचारीको दैनिक भ्रमणभत्ता र विभिन्न गोष्ठिमा प्रस्तुत गर्ने कार्यपत्रसम्मको भत्ता र पारिश्रमिक बारे निर्धारण गरेको छ ।
त्यस्तै बैठकले पूर्वी रूकुमको पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र कोलबाट तकसेरामा सार्न संघीय सरकारमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
गाउँपालिकाको दुई तिहाई निर्णयबाट पारित भएको केन्द्र सार्ने निर्णयलाई प्रदेश सरकारले अनुमोदन गरेर केन्द्र सरकारलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सरकारको सिफारिससँगै पूर्वी रुकुमको झण्डै १ वर्ष देखिको विवाद अन्त्य भएको छ।
राष्ट्रिय गौरवका आयोजनाको अवस्थाबारे जानकारी
प्रदेश सरकारले प्रदेश ५ मा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगतीबारे आयोजना प्रमुखसँग जानकारी लिएको छ।
मुख्यमन्त्री शंकर पोख्रेलले राष्ट्रिय गौरवका आयोजनाहरू जसरी भए पनि समयमा पुरा गर्नुपर्ने बताएका छन्।
मुख्यमन्त्री पोखरेलले स्रोतको अभावका कारण आयोजनाले गति लिन नसके प्रदेश सरकारलाई जानकारी दिन आयोजना प्रमुख एवम् सम्बन्धित आयोजनाका प्रतिनिधिलाई आग्रह गरे।
प्रदेश सरकारको चासो राष्ट्रिय गौरवका आयोजनामा भएकाले स्रोतको व्यवस्थापनले प्रदेश सरकारले लविङ समेत गर्ने उनले बताए।
उनले आयोजना प्रमुखहरुले समेत आयोजनाका लागि वित्तिय प्रबन्ध गर्न पहल कदमी गर्नुपर्ने भन्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले तोकिएको समयमा काम नगर्ने ठेकदारहरुलाई ताकेता गर्दा पनि काम नगरे आयोजना एक्सनमा जानुपर्ने बताए।
बबई सिँचाई आयोजना, भेरी बबई डाईभर्सन, हुलाकी राजमार्ग, लुम्बिनी, गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरुले कामको प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।
आयोजना प्रमुखहरुले समयमा बजेट विनियोजन नहुँदा योजनाहरु समयमै पुरा हुन नसकेको भन्दै बजेटको प्रयाप्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
विकास निर्माणको काम गर्दा अधिकांश स्थानमा विकास विरोध गतिविधी भएका कारणले पनि योजनाहरुको काममा अप्ठ्यारो परेको उनीहरुको भनाई छ । समिक्षा कार्यक्रममा बोल्दै गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख ओम शर्माले अन्तर समन्वयनको अभावका कारण काम गर्न अप्ठयारो भएको बताए। उनले कतिपय जनप्रतिनिधिको भूमिका विकासमैत्री नभएको बताए ।
हुलाकी राजमार्ग आयोजनाका प्रमुख कृष्णनाथ ओझाले सडक निर्माण गर्दा विद्युत पोल नसार्ने, नापी र मालपोत कार्यालयले असहयोग गर्दा आयोजनाहरु समयमा सम्पन्न हुन नसकेको बताए ।
उनले प्रोजेक्ट म्यानेजरहरु फेरबदल हुंदा समेत आयोजनाको कामले गति लिन नसक्ने भएकाले आयोजना सम्पन्न नहुंदा सम्म एउटै प्रमुखले काम गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई आग्रह गरे ।
समिक्षा कार्यक्रममा लुम्बिनी विकास कोषका प्राविधिक प्रमुख सरोज भट्टराई, सिक्टा सिंचाई आयोजनाका प्रविण श्रेष्ठ, भेरी बबई डाईभर्सन आयोजनाका प्रकाश पुडासैनी लगायतले आयोजनको प्रगतीबारे जानकारी गराएका थिए ।