भारतले नेपालका विभिन्न सामाजिक संघ, संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ।
भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरू उपलब्ध गराएको हो।
बुधबार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न संघ, संस्थाहरूलाई एम्बुलेन्स तथा बसहरू हस्तान्तरण गरेका हुन्।
समारोहमा भारतीय सेनामा गइ वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो।
भारतले भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर यस अघि नै विभिन्न सामाजिक संघ, संस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ।
समारोहमा भारतीय राजदूत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशवासीको नाममा दिएका सन्देश पढेर सुनाएका थिए।सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरूको चर्चा गरिएको छ।
समारोहमा भारतीय दूतावासका कर्मचारीहरू, उनीहरूका परिवारलगायत नेपालमा रहेका भारतीय समुदायको सहभागिता रहेको थियो। समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत गाएका थिए।