प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केही मन्त्री लिएर शनिबार बिहान १० बजेतिर प्रदेश नम्बर २ स्थित धनुषा जनकपुर उडे।
करिब सवा ११ बजेतिर जनकपुर विमानस्थल उत्रिएका उनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे। विमानस्थलमै पुगेका राजपा नेताहरूले भने प्रधानमन्त्रीलाई कालो झण्डा देखाए। पाँच जनालाई प्रहरीले पक्राउ गर्यो।
प्रधानमन्त्री मधेश झर्ने कार्यक्रम सार्वजानिक भएदेखि नै राजपाका नेता र सांसदले विरोध जनाएका थिए। त्यसैले हुनुपर्छ प्रधानमन्त्री ओलीले पनि प्रदेशसभा बैठक सम्बोधन गर्नुपूर्व केहीबेर मुख्यमन्त्रीलगायतसँग छलफल गरे।
प्रधानमन्त्री ओली प्रदेशसभाको बैठकस्थल प्रवेश गरेसँगै राजपाका सांसदहरुले उठेर विरोध जनाए। प्रधानमन्त्री ओलीलाई प्रदेश २ का सभामुख सरोजकुमार यादवले स्वागत गर्दै सम्बोधनका लागि समय दिए।
सरकार गठन भएको छ महिना पुग्नु एक दिन अघि मधेश पुगेका ओलीले देशमा स्थानीय, प्रदेश र केन्द्र गरी ७६१ सरकार रहेको बताए। सरकारहरूले कमीकमजोरी गरेको भए व्यवहार सुधार्दै लैजानुपर्नेमा उनले जोड दिए।
प्रदेश संसदमा सम्बोधन गर्नु संसदीय अभ्यास विपरीत भएको, मधेशलाई हेर्ने दृष्टिकोण अझै पनि विभेदकारी रहेको भन्दै राजपाका सांसद मनिष सुमनलगायतले बैठक बहिष्कार गरेका थिए।
यसबारे प्रधानमन्त्रीले संघीय सरकारका दृष्टिकोण प्रस्तुत गर्न प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आएको बताए। प्रदेश २ गौरवपूर्ण भूमि, ज्ञानको मन्थन र चिन्तन हुने भूमि भएको प्रशंसा प्रधानमन्त्रीले गरे। गौरवपूर्ण भूमि मधेशमा महिलाहरूप्रति सम्मानजनक व्यवहार नभएको उनले बताए।
‘प्रदेश २ को विकासका लागि संघीय सरकार र म प्रतिवद्ध छु’ शनिबार प्रदेश २ को प्रदेशसभा बैठकमा उनले भने, ‘सबैभन्दा विरोध यहीँबाट भएकोले देखाउने गरी विकास गर्छु।’
स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा ओली मधेश झर्न सकेका थिएनन्।
प्रधानमन्त्री ओलीले करिब डेढ घण्टा बैठकलाई सम्बोधन गर्दा अधिकांश समय प्रदेशलाई कसरी सम्वृद्ध बनाउने भन्नेमा समय खर्च गरे। तराईका उर्भर भूमि सिँचाइ अभावले कृषि तथा फलफूल उत्पादन गर्न नसकिएको उनले बताए।
‘तराईलाई सुख्खा र मरुभूमिकरण हुनबाट बचाउने गरी ठूला नदीबाट ठूला सिँचाइ आयोजना बनाउनुपर्छ’ उनले भने, ‘सुनकोशी डाइभर्सन बनाउन सकिएमा त्यसले सिँचाइ मात्रै होइन बहुआयामिक अर्थ राख्छ।’
स-साना खोलाबाट जलचर हराउँदै गएकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे।
‘म सानो हुँदा स-साना खोलामा माछा मारेको छु’ उनले भने, ‘अहिले ती खोलामा माछाको अस्तित्व छैन। पानी पर्याप्त छैन भने खोला प्रदुषित छ। हाम्रै जीवनकालमा खोलालाई पूरानै अवस्थामा फर्काउनुपर्छ।’
तराईका सुख्खा जमीनमा सिँचाइ गर्न ठूला नदीबाट नहर ल्याउने, सौर्य उर्जा प्रयोग गरी जमीनमुनिको पानी तान्ने र चुरे क्षेत्रमा ताल बनाउन सकिने उनले तर्क गरे।
‘चुरेको क्षेत्रतिर पानीका ठूला ड्याम बनाउन सक्ने हो भने पानी रसाएर तलका जमिन मलिलो र सिँञ्चित भइराख्थ्यो’ उनले भने।
कृषि तथा फलफूलको उत्पादन बढाउने नेतृत्व लिन उनले सांसदहरूलाई आग्रह गरे। उदाहरण दिए- झापामा महिलाहरूले जग्गा ठेक्कामा लिएर एकै खाले बाली लगाएर आम्दानी लिएका छन्।
ठूलो परिमाणमा उत्पादन गर्न नसकेर आँपलगायत फलफूल तथा अन्य कृषि चिजबिज विक्री गर्न नसकिएको उनको भनाइ छ।
‘अमेरिका, रसिया मंगोलिया, जापानमा आँप फल्दैन हामीले पठाइदियो भने किनेर खान्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘आँप कसलाई पो मीठो नलाग्ला र?’
कृषिमा आधुनिकीकरण र मेशिनीकरण भित्र्याउनुपर्ने भन्दै उनले सहकारीमार्फत् ठूलो क्षेत्रमा व्यवसायिक खेती गर्न किसानलाई आग्रह गरेका हुन्।
‘मुख्यमन्त्रीलाई भनेका छौं, योजना बनाएर दिनुस् केन्द्र सरकारले ती योजना कार्यान्वयन गर्छ’ प्रधानमन्त्री ओलीले थपे, ‘सहकारीबाट ठूलो प्लटमा खेती गर्नुपर्छ।’
प्रधानमन्त्री ओली यतिमा रोकिएनन्। उनले प्रसंग बदले।
आफूले रेल ल्याउने कुरो गर्दा केहीले उडाउने गरेको उनले बताए।
‘साँझ, बिहान छाक टार्ने कुरा गरेर भविष्य बनाउन सकिँदैन’ ओलीले भने, ‘पूर्व पश्चिम रेल बनाएरै छाड्ने हो।’
चीन र भारत सरकारको सहयोगमा रेल बनाउने उनले बताए।
‘तराईबाटै रेल कुद्ने हो, फाइदा कसलाई हुन्छ? उनले भने, ‘वीरगंज-काठमाडौं रेल बनाउने कुरा मोदीजीसँग भेटमा भएको छ।’
रेल किन चाहियो? भन्नेहरूलाई प्रधानमन्त्रीले दिएको जवाफ यस्तो छ, ‘किन रेल चाहियो भन्छन् मान्छेहरू। उत्पादन ओसार्न रेल चाहिएन?’ उनले प्रश्न गरे, ‘हिमाली भेगको मिनरल वाटर ट्यांकरका ट्यांकर विदेश विक्री गर्न सकियो भने पैसाको अभाव हुन्न।’
उनले हिमाली भेगमा पानी मात्रै होइन बहुमूल्य जडिबुटी पनि रहेको सुनाए।
‘गुँरास औषधि हुन्छ, हामीले दाउरा बालिरहेका छौं’ उनले भने।
प्रधानमन्त्री ओलीले धनुषामा २५ करोड लागतमा मणिमण्डप निर्माण कार्य थालेको बताए।
‘६/७ फिट खन्दा दाउरा तथा खरानी भेटिएको छ। भेटिएका चिजहरू पुरातात्विक भन्ने देखिएको छ। त्यसले राम जानकीको विवाह स्थापित गरेको छ’ उनले भने, ‘यसले धार्मिक पर्यटन विकास गर्छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि जनकपुर र मुक्तिनाथमा गरेको भ्रमणले धार्मिक पर्यटन विकास भएको उनले बताए।
‘मैले नरेन्द्र मोदीजीलाई जनकपुर र मुक्तिनाथ किन बोलाएँ? धेरैले बुझेनन्’ ओलीले भने, ‘पोखरा र मुक्तिनाथमा अफसिजनमा पनि होटल भरिभराउ छ। नयाँ होटल खोल्नुपर्ने भएको छ। भारतीय पर्यटक बढेका छन्।’
उनले सांसदलाई आडम्वरी नहुन आग्रह गरे।
‘जनता निराश भए भने त्यो खतरनाक कुरा हो। जनताले गरेको विश्वास र अभिभारा कायम राखेर हामी अघि बढाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने।
वर्षेनी बर्खाका बेला नदी किनाराका बस्ती डुवानमा पर्ने र बगाउने समस्या हल गर्ने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री ओलीले प्रदेश २ मा ८ हजार घर (जनता आवास) बनाउने बताए।
‘जहाँ बगायो त्यहाँ घर बनाउने होइन। सुरक्षित ठाउँमा एकीकृत बस्ती विकास गरी विद्यालय, स्वास्थ्य चौकीलगायत पूर्वाधार विकास गरौं’ उनले भने, ‘अनुपयुक्त ठाउँ, खोला किनारमा बस्ती विकास हुन नदियौं।’
सहरी विकासले ७० प्रतिशत बजेट तराई-मधेशलाई छुट्टाएको प्रधानमन्त्री बताउँछन्।
‘हुलाकी सडकलाई तीव्रता दिएर पाँच वर्षमै बनाइसकिन्छ। अर्को पटक चुनावमा हुलाकी राजमार्गकै पक्की बाटोमा दौडन पाउनुहुन्छ’ उनले भने।
प्रदेश २ भाग्यमानी भएको प्रधानमन्त्रीको तर्क छ।
कसरी?
प्रधानमन्त्री ओलीले बेलीविस्तार लगाए, ‘रेल, गाडी, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग यही प्रदेशमा। कलकत्ता जाने पानीजहाज पनि यसै प्रदेश भएर जाने अनि भएन त भाग्यमानी?’
जसले विरोध जनाए पनि नेपाली झण्डा राखेर पानीजहाज ल्याइ छाड्ने उनले प्रतिबद्धता जनाए।
‘जसले विरोध गरे पनि नेपाली झण्डा राखेर पानीजहाज हिँडाउने हो हिँडाउने हो त्यसले देशको विकास गर्छ’ ओलीले थपे, ‘कोशी, गण्डकी र कर्णालीबाट संभवत पानी जहाज कुदाउँछौं।’
कहिलेसम्म?
प्रधानमन्त्रीले समय तोकेनन्। यत्ति मात्रै भने, ‘छिट्टै।’
पानीजहाज र रेल निर्माणमा भारत र चीन सकारात्मक देखिएको उनले बताए।
परराष्ट्र नीतिबारे प्रधानमन्त्रीले ‘दुई छिमेकीबीच कुनै कार्ड खेल्दैनौं मिलेर काम गर्छौं’ भनेका छन्। भारतसँग बिग्रिएको सम्बन्ध आफू प्रधानमन्त्री भएपछि सुधार गरिएको उनको जिकिर छ।
उनले प्रदेश २ मा मेडिकल कलेज, नयाँ विश्वविद्यालय, मल कारखाना खोल्न सहयोग गर्ने बताए।
‘विदेशबाट जन्ती आउने जनकपुरधाममा यस्तो फोहोर राख्नुहुन्न’ उनले जग्गा नहुँदा दाता फर्किएको प्रसंग निकाल्दै थपे, ‘२० विगाहा जमिन खोज्नुपर्छ।’
सम्बोधनको अन्तिमतिर प्रधानमन्त्री ओलीले सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गरेको, सुन तस्करी रोकेको उपलब्धिका रूपमा सुनाए।
‘३८ क्वीन्टल सुन। खल्तीमा बोकेर हो र? सुन त उम्कियो तर सुन तस्करी गर्ने प्वालहरू बन्द गरिसक्यौं’ उनले भने।
असोज ३ भित्र कानूनहरू बनाइसक्ने बताएका प्रधानमन्त्री ओलीले केही प्रदेश र स्थानीय तहमा देखिएको ‘प्रोटोकल’ विवादबारे आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले छिनोफानो गर्ने बताए।