विराटनगर जाँदा प्रायः होटलमा बस्ने कांग्रेस महामन्त्री शशांक कोइराला शनिबार बास बस्न कोइराला निवास पुगे। केन्द्रीय सदस्य तथा उनका दाजु शेखर कोइराला निवासमै थिए।
विराटनगर जाँदा शेखर सधैं निवासमै बस्छन्। महामन्त्री कोइराला पनि पुगेपछि शनिबार दाजुभाइको एकै ठाउँमा बास भयो।
प्रजातान्त्रिक विचार समाजले शनिबार आयोजना गरेको कार्यक्रमका लागि दुबै विराटनगर पुगेका थिए। कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि थिए।
आन्तरिक द्वन्द्वमा गुज्रिएको भनिएको कोइराला परिवारका दाजुभाइ भेट्न आइतबार बिहान कार्यकर्ताहरू निवास पुगे। कोइराला दाजुभाइले कार्यकर्ताको गुनासो र पीरमर्का सुने।
दुबै नेता शक्तिशाली रहँदा पनि मिलेर कांग्रेस हाँक्न नसकेको गुनासो कार्यकर्ताको थियो। उनीहरूको आग्रह थियो, ‘तपाईं दुईमध्ये एकले कांग्रेस हाँक्नुस्, पार्टीलाई सुधार र सुदृढ बनाएर लैजानुस्।’
झन्डै आधा घन्टा कार्यकर्ताको कुरा सुनेपछि कोइरालाद्वयले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, हामी मिलेर अघि बढ्छौं।’
युवा नेता गुरुराज घिमिरेका अनुसार दुबै नेताको बोली एउटै सुनेपछि कार्यकर्ता उत्साहित भएका थिए।
‘हामीबीच कुनै पनि किसिमको द्वन्द्व छैन, उपयुक्त समयमा निर्णय लिन्छौं,’ दुबैको भनाइ उद्धृत गर्दै घिमिरेले सेतोपाटीसँग भने।
आइतबार सेतोपाटीसँग कुरा गर्दै शशांक कोइरालाले परिवारका तीनमध्ये एकले १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने बताए।
‘हामीबीच छलफल चलिरहेको छ, तीन जना एकै ठाउँ छौं, हामीमध्ये को लड्ने निर्णय गर्छौं,’ उनले भने।
पारिवारिक स्रोतका अनुसार शेखरले १४ औं महाधिवेशनको नेतृत्व आफूलाई छोड्न शशांकलाई भनिसकेका छन्। शशांक बोलेका छैनन्।
तेह्रौं महाधिवेशनमै शेखरले आफूलाई महामन्त्री छाड्न शशांकसँग आग्रह गरेका थिए। उनले ‘मैले उठ्ने निर्णय गरिसकें’ भनेपछि शेखर पछि हटेका थिए। यसपालि भने सुरूदेखि नै शेखरले आफू उठ्ने प्रष्ट पार्दै शशांकमाथि दबाब बढाएका छन्। उनले रामचन्द्र पौडेललगायत नेतालाई भेटेर आफू सभापतिमा उठ्ने बताइसकेका छन्।
गत चुनावमा पार्टी पराजयका कारणहरू खोतल्दै पछिल्लो समय शेखरले आक्रामक अभिव्यक्ति राख्दै आएका छन्। पार्टी नेतृत्वले पराजयको जिम्मा नलिएको, पार्टी सुधार्नुको साटो बिगार्दै लगेको, आस्था/निष्ठामा प्रतिकूलता ल्याएको भन्दै नेतृत्वको आलोचना गरिरहेका छन्।
महामन्त्री कोइराला भने समन्वयात्मक भूमिकामा छन्। उनी नेतृत्वलाई दोष नदिइकन गुटउपगुट त्यागी पार्टीलाई बलियो बनाएर लैजानुपर्ने बताउने गरेका छन्।
निवासमा कार्यकर्ताको कुरा सुनेर महामन्त्री कोइराला पार्टी कार्यालय पुगेका थिए। त्यहाँ कार्यकर्ताहरूसँग कुरा गर्दै कोइरालाले सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएलगत्तै महासमिति बैठक डाक्न पहल गर्ने बताए। देउवा अहिले उपचार गर्न सिंगापुर गएका छन्।
संसदीय दलको नेताको चुनावमा महामन्त्री कोइरालाले असहयोग गरेको भन्दै कार्यकर्ताले दुखेसो पोख्ने गरेका छन्। आफ्नै समूहबाट संसदीय दल निर्वाचनमा उठेका नेता प्रकाशमान सिंहलाई सहयोग नगरेको कार्यकर्ताको आरोप छ।
‘पदीय हिसाबले पार्टी पराजयको जस/अपजस महामन्त्रीलाई पनि जान्छ, त्यसहिसाबले उहाँले समन्वयकारी भूमिका खेलेजस्तो देखिन्छ,’ एक कांग्रेस नेताले भने, ‘दुई नेताको प्रस्तुति र भूमिका प्रष्टै फरक देखिन्छ।’
पार्टी सुधारको एजेण्डा बोकेर शेखर जिल्ला घुमिरहेका छन्। तेह्रौं महाधिवेशनपछि सबैभन्दा धेरै कार्यकर्तासँग भेटघाट गर्ने नेतामा उनी अगाडि छन्।
आइतबार बिहानको भेटघाटमा पार्टी महाधिवेशन भएको तीन वर्ष पुग्दा पनि महासमिति बैठक बस्न नसकेको, संघीय ढाँचामा पार्टी रूपान्तरण हुन नसकेको, संगठनहरू निष्क्रिय देखिएको भन्दै कार्यकर्ताले असन्तुष्टि पोखेका थिए।
घिमिरेका अनुसार पछिल्लो समय कोइराला दाजुभाइबीच बाक्लो संवाद भइरहेको छ।
स्याङ्जाका कांग्रेस सभापति कमल पंगेनीको निधनका बखत दुबै गएका थिए। एउटै होटलमा बसेका थिए। तेह्रौं महाधिवेशनपछि कोइराला निवासमै भेट र संवादचाहिँ यो पहिलो नै थियो।
‘आफ्नो घरमा आएर बस्नु नौलो कुरा होइन, यसरी सँगै देख्दा कार्यकर्तामा उत्साह बढेको छ,’ नेता घिमिरेले भने।
कोइराला परिवारभित्र आन्तरिक कलह र द्वन्द्व पुरानो रोग हो। नेतृ सुजाता, शेखर र शशांकबीच मिलाप नरहेको कुरा बाहिर आइरहन्छ।
प्रजातान्त्रिक आन्दोलन छेड्ने महत्वपूर्ण मुकाम बनेको कोइराला निवास गिरिजाप्रसाद कोइरालाको निधनपछि लगभग एक्लिएको थियो। कोइरालाले पार्टी कार्यकर्ता तथा नेताबीच सुमधुर सम्बन्धको केन्द्र निवासलाई बनाएका थिए।
परिवारका सदस्यकै आउजाउ नभएपछि कोइराला निवासको अस्तित्वलाई लिएर कार्यकर्ताहरू असन्तुष्ट बनेका थिए। पछिल्लो समय शेखर नियमित रूपमा निवासमा जान र बस्न थालेका छन्। नेतृ सुजाता भने कोइराला निवास जान्नन्। निवासकै छेउमा उनले घर बनाएकी छिन्।