काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले प्रहरी सेवालाई प्रभावकारी बनाउँदै राजधानीबासीलाई शान्ति सुरक्षाको महसुस दिलाउने बाचा गरेका छन्।
भदौ १ गतेदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवार समालेका एसएसपी लामाले सोमबार पहिलो पत्रकार सम्मेलन मार्फत काठमाडौंको शान्ति सुरक्षालाई चुस्त दुरूस्त पार्न कुनै पनि कसुर बाँकी नराख्ने बताएका हुन्।
‘प्रहरीले काम गरेन भन्ने धेरै आरोपहरू छन्, ती केही रुपमा सही हुन्। तर, अब म आएँ, त्यस्तो हुन दिन्नँ, उनले भने, ‘मेरो प्रथमिकता भनेकै प्रहरीले काम गर्दैन भन्ने कुरालाई मेटाउँदै प्रहरी पनि छ है भन्ने हो।’
राजधानीको शान्ति सुरक्षासँग मुलुककै सुरक्षाको भविश्य जोडिएको भन्दै काठमाडौंको शान्ति सुरक्षा र नागरिक सेवालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताए।
गुण्डा तह लगाउन ब्यापारीसँग सहकार्य गर्ने
भूमिगत शैलीमा काठमाडौंमा हुने गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विषेश कदम चाल्ने भन्दै एसएसपी लामाले ब्यापारीलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।
‘गुण्डागर्दी अहिले पनि हुन्छ। तर, शैली फेरिएको छ, पैसावाल मान्छेलाई टार्गेट गर्ने र विभिन्न बाहानामा पैसा उठाउने काम अहिले पनि जारी छ, त्यसलाई नियन्त्रण गर्नेछु,’ लामाले भने, ‘यसका लागि प्रहरीलाई ब्यापारीले सहयोग गर्नुपर्छ।’
आफूसँग लुकेर हुने गरेको गुण्डागर्दी नियन्त्रण गर्ने केही योजनाहरू रहेको भन्दै ती योजना लागू गरेर गुण्डागर्दी निमिट्यान्न पार्ने एसएसपी लामाले भने।
आर्थिक चलखेल हुँदैन र हुन पनि दिन्नँ
आर्थिक प्रलोभनमा परि काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई कारबाही गर्ने एसएसपी लामाले चेतावनी दिएका छन्।
‘म कुनै पनि आर्थिक लोभमा पर्ने छैन र आचरण खराब भएका प्रहरी कर्मचारीलाई त्यसै छाड्ने पनि छैन,’ उनले भने, ‘प्रहरीले प्रदान गर्ने सेवामा कुनै मुल्य हुँदैन नागरिकले सेवा पाउनुपर्छ।’
पुराना केस पल्टाउने
प्रहरी कार्यालयमा दर्ता भएर पनि कार्यान्यवन नभएका पुराना मुद्दालाई पल्टाएर पीडितलाई न्याए दिने एसएसपी लामाले बताए।
‘प्रहरीको भरोसा गरी पीडितहरू आएर उजुरी दिन्छन्, तर ती उजुरीको वर्षौसम्म सुनुवाई हुँदैन, अब त्यसको अन्त्य गर्दै पुराना फाईल खोतलेर पीडितलाई न्याए दिन्छु,’ एसएसपी लामाले भने,‘यसको सुरुवात आजैबाट गर्छु।’
प्रहरीलाई त्रिपालबाट हटाउँछु
महानगरीय प्रहरी परिसर टेकु र मातहतमा रहेका प्रहरी कर्मचारीलाई त्रिपालबाट हटाएर भवनमा सार्ने वातावरण मिलाउने आफ्नो योजना रहेको एसएसपी लामाले बताए।
दैनिक १४ देखि १८ घण्टा ड्यूटी गर्ने प्रहरीहरू अझै पालमुनी सुत्नुपरेको छ। पालमा बसेका प्रहरीलाई कम्तीमा सुत्ने ब्यवस्था राम्रो भए प्रहरी काम कारबाहीमा केही फरक हुने एसएसपी लामाले पत्रकार सम्मेलनमा बताए।
‘२०७२ सालको भूकम्पपछि पालमा बस्दै आएका प्रहरी अझै पालमै छन्,’ उनले भने, ‘उनीहरूलाई भवनमा सार्ने राज्यको नीति होला तर, तत्काल त्यो समस्या समाधान गर्न जरूरी छ र म त्यसलाई पहल गर्छु।’