नेपालमा गोबर ग्यास बलेको चार दशक बढी भइसकेको छ। नेपालमा सन् १९७५ देखि गोबर ग्यास बल्न थालेको हो।
कृषि विकास बैंकको अनुदानमा नेपालका ग्रामीण भेगमा गोबर ग्यास निर्माण थालिएको हो। गाउँघरमा अझै पनि गोबर ग्यासबाट भात पकाउने चलन छ। तर, न्यून मात्रामा।
फितलो सरकारी नीति तथा जनशक्तिको अभावका कारण ‘गोबर ग्यास प्लान्ट’ हराउँदै गएको हो। ग्रामीण क्षेत्रमा पनि ग्यासका सिलिन्डर पुग्न थालेका छन्।
वैकल्पिक ऊर्जा उपयोगको कमी हुन थालेसँगै जनता परनिर्भर हुन थालेका छन्। २०७२ सालमा भारतले अघोषित नाकाबन्दी लगाएपछि खाना पकाउने ग्यास हाहाकार भयो र वैकल्पिक ऊर्जा स्मरणमा आयो।
त्यसैबेला प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘घर–घरमा पाइपबाट ग्यास फिट गरिन्छ।’
प्रधानमन्त्री ओलीले यस्तो भनेपछि धेरै आश्चर्यमा परे। प्रधानमन्त्री आलोचनाका पात्र पनि भए।
नेपालमा न वैकल्पिक ऊर्जा विकास भयो न प्रधानमन्त्री ओलीले भनेजस्तो घर–घरमा पाइपबाट ग्यास फिट भयो।
मंगलबार विराटनगरमा श्रीकृष्ण गौसेवा सदनले सञ्चालनमा ल्याएको नेपाली समाजको पुरानो ‘गोबर ग्यास प्लान्ट’ उद्घाटन गर्दा प्रधानमन्त्री खुसी भए। आफूले भनेजस्तै ‘घर–घरमा ग्यासको पाइप फिट भएको देखेको’ बताए।
सरकार, स्थानीय तह तथा वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रको सहकार्यमा तीन वर्षअघि थालिएको ‘गोबर ग्यास प्लान्ट’ योजना मंगलबार साकार बन्दा प्रधानमन्त्री र मन्त्रीहरू चमत्कारै भएको ठानेर उद्घाटन गर्न पुगेका थिए।
‘पाइपबाट ग्यास घर–घर पुगेर कसरी बल्छ? आज देखियो,’ प्रधानमन्त्रीले श्रीकृष्ण गौसेवा सदनमा गोबर ग्यास बाल्दै भने।
‘आज ३२ घरले सिलिन्डर मिल्काए, अब ४८ ले मिल्काउँदैछन्, विस्तारै मिल्काउँदै जानेछन्,’ गोबर ग्यास बालेपछि प्रधानमन्त्रीले भने, ‘देश आत्मनिर्भरताको अभियानमा अघि बढ्यो।’
प्रधानमन्त्री ओलीले गोबर ग्यास प्लान्टबाट ३२ घरमा पुगेको ग्यासलाई ‘पाइलट प्रोजेक्ट’ भनेका छन्। ‘यो सानो भए पनि पाइलट प्रोजेक्ट हो,’ उनले भने, ‘फोहोर हाम्रो समस्या बनेको छ, यसलाई सम्पत्तिको रुपमा विकास गरिन्छ।’
देशका अन्य ठाउँमा पनि वैकल्पिक ऊर्जाका काम अघि बढिरहेको बताउँदै ओलीले इच्छाशक्ति र स्पष्ट दृष्टिकोण भए चाँडै काम गर्न सकिने बताए। ‘नेपाल प्राकृतिक स्रोत साधनले सम्पन्न छ। राष्ट्र निर्माणको संकल्प बोकेर अगाडि बढेको छु,’ छोटो सम्बोधनमा ओलीले भने।
विराटनगर महानगरपालिकाका अनुसार मिटर प्रणाली अन्तर्गत ३२ घरमा पाइपबाट ग्यास पठाइएको छ। मिटरमा जति पैसा उठ्छ त्यसै अनुसार गौसेवा सदनलाई भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
पहिलो चरणमा ३२ घरमा पुर्याइएको छ। यसलाई बढाएर ६४ घर हुँदै ८० घर पुर्याउने लक्ष्य छ। एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा झन्डै ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने हुन्छ।
ग्यासबाट हुने सबै आम्दानी गौसेवा सदनले उपभोग गर्छ। गाईको उपचार, बिमा, आधुनिक गोठ निर्माण, छाडिएका गाई वस्तु संरक्षणलगायतमा उक्त रकम खर्च हुने महानगर प्रमुख मेयर भीम पराजुली बताउँछन्। ‘गाई पालन बढाएर गोबर उत्पादकत्वमा बृद्धि गर्ने लक्ष्य छ,’ उनले भने।
जैविक ग्यास, गोबर ग्यास, बायो ग्यास जे भने पनि सड्न सक्ने चिज वस्तु सडाएर निस्कने ग्यास हो। यसबाट ज्वलनशील मिथेन ग्यास निस्किन्छ। बायो ग्यासमा करिब ६५ देखि ८० प्रतिशत मिथेन ग्यास निस्किने उक्त प्लान्ट निर्माणमा संलग्न इन्जिनियर ज्ञानेन्द्र सिंह बताउँछन्।
‘यो ग्यासमा एलपीजस्तो पड्केर आगो लाग्ने खतरा छैन,’ सिंहले भने।
बायो ग्यास बनाउन एउटा खाडल तयार पारी इँटा, ढुङ्गा, बालुवा, सिमेन्टद्वारा ढलान गराइन्छ। एकतिर गोबर हाल्ने र अर्कोतिर गोबर निस्किने ठाउँ बनाइएको हुन्छ। गोबर र पानीको घोलबाट तापक्रम उत्पन्न भई ग्यास बन्छ, यसलाई पाइपद्वारा चुलोमा पुर्याइन्छ।
विराटनगरमा सञ्चालन गरिएको गोबर ग्यास प्लान्ट केही जनतालाई लक्षित गरी निर्माण गरिएको हो। यसमा राखिएको ‘ग्यास मिटर’ प्रणाली नयाँ हो। इन्जिनियर सिंहका अनुसार घरमा दुई वटा मिटर जडान गरिएको हुन्छ। एउटा चुलोमा र अर्को घर बाहिर।
चुलोमा राखिएको उपकरण ग्यास कन्जङ्सन र बाहिर राखिएको ग्यास प्रेसर हो। चुलोमा राखिएकोले ग्यासको खपत देखाउँछ र बाहिर राखिएकोले ग्यास छ छैन जानकारी दिन्छ।