मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदमा प्रदेश ५ सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ।
विगतका वर्षहरूमा सरकारले बकर ईदमा विदा दिँदै आएकोमा सार्वजनिक विदा धेरै भएको भन्दै यस वर्षदेखि विदा कटौती गरेको थियो।
प्रदेश पाँचका तराईका जिल्लूरुमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेकोले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए।
यता, प्रदेश अन्तर्गतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक विदा गरिए पनि संघीय सरकार अन्तर्गत रहेका कार्यालय भने खुल्ने/नखुल्ने अन्यौल छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले संघीय सरकारले बकर ईदमा सार्वजनिक विदा कटौती गरेको र प्रदेश सरकारबाट समेत कुनै जानकारी नआएको बताए।
‘अहिलेसम्म केन्द्र सरकार र प्रदेश सरकारबाट समेत विदाबारे कुनै जानकारी प्राप्त भएको छैन, प्रदेश सरकारबाट सार्वजनिक विदाबारे कुनै जानकारी प्राप्त भए केन्द्रमा पठाउने र केन्द्रबाट विदा दिने निर्देशन भए विदा गर्ने छौं,’ उनले सेतोपाटीसँग भने।
केन्द्रले विदा नदिए जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंकको भैरहवा शाखा तथा अन्य बैंक तथा वित्तीय संस्था, भन्सार, राजस्व लगायतका कार्यालय खुला रहने छन् ।
यसअघि पनि गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते प्रदेश पाँच सरकारले सार्वजनिक विदा घोषणा गरे पनि संघ अन्तर्गतका कार्यालय भने खुला गरिएका थिए।
यस्तै, प्रदेश १ सरकारले पनि सो अवसरमा विदा दिने भएको छ।