कानून निर्माण गर्ने र आफैं बजेट बनाएर आफैं खर्च गर्ने अधिकार पाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब स्थानीय तहमा निगरानी बढाउने भएको छ।
संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको र बजेटको ठूलो हिस्सा स्थानीय तहमा जाने र अनियमितता समेत बढी हुनसक्ने भएकोले अख्तियारले निगरानी बढाउने भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले बुधबार आयोजना गरेको गत आर्थिक वर्ष ०७४/०७५ को वार्षिक प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा कार्यालयका प्रमुख रविलाल पन्थले अब आयोगको निगरानी तल्लो तहमा बढाउने बताएका हुन्।
चालू आर्थिक वर्षको एक महिनाको अवधिमा स्थानीय तहका जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी आइसकेको उल्लेख गर्दै अख्तियार स्थानीय तहमा चनाखो भएर लाग्ने बताए।
चालू आर्थिक वर्षको एक महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा परेका उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहका विषयमा छन्। साउन महिनामा मात्रै १ सय ५१ उजुरी दर्ता भएकोमा स्थानीय तहका मात्रै ३० वटा उजुरी दर्ता भएका छन्।
स्थानीय तहसम्बन्धी सामाजिक सुरक्षा भत्तामा अनियमितता, उपभोक्ता समितिमार्फत् हुने काम गुणस्तरहीन भएको, सार्वजनिक जग्गा अतिक्रमण, नक्कली बिल भरपाई बनाइ सरकारी रकमको हिनामिना गरेको, सामुदायिक वनका काठहरूको हिनामिना जस्ता विषयका उजुरी परेका छन्।
गत आर्थिक वर्ष ०७४/०७५ मा पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत २ सय १ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ।
गत वर्ष सबैभन्दा बढी शिक्षासम्बन्धी र दोस्रोमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतका मुद्दा दर्ता भएको कार्यालय प्रमुख पन्थले जानकारी दिए।
गतवर्ष ८ सय ५७ वटा उजुरी दर्ता भएकोमा ३ सय २१ वटा शिक्षासम्बन्धी रहेका छन्।
बुटवल कार्यालयमा आएका उजुरीमा विद्यालय भवन निर्माणमा अनियमितता, छात्रवृत्ति रकम दुरुपयोग, पाठ्यपुस्तक वितरणमा अनियमितता, विद्यालय कोषको रकम हिनामिना, विज्ञान सामग्री खरिद र पुस्तकालय स्थापनामा अनियमिततासम्बन्धी रहेका छन्।
जिल्लागत रूपमा उजुरीको संख्यामा हेर्दा सबभन्दा बढी रुपन्देहीमा ३ सय ८ र सबभन्दा कम गुल्मीमा ४८ वटा उजुरी परेका थिए। अख्तियार कार्यालयले एक वर्षमा ५ जनालाई रंगेहात पक्राउ गरी ६ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।
त्यस्तै मुद्दा दायरबाट बिगो दाबीस्वरूप ६ लाख र असुल उपरबाट ४ करोड ८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अख्तियारमा पछिल्लो पाँच वर्षयताका ३ सय ८५ उजुरी फर्छ्यौट हुन बाँकी छन्।
अख्तियारप्रति नागरिकको विश्वास बढ्दै जाँदा उजुरी आउने क्रम बढे पनि जनशक्ति अभावमा फर्छ्यौट हुने क्रम भने घटेको कार्यालय प्रमुख पन्थले जानकारी दिए ।
कार्यालय प्रमुख पन्थले पछिल्लो समय घूस लिने तरिका बदलिएको र गुणस्तरीय र प्रमाणमुखी अनुसन्धान गर्न चुनौती देखिएको बताए।
‘टेबुलमुनिबाट घूस लिन्छन् भन्ने विगतको मान्यता बदलिएको छ’, उनले भने ‘अहिले चेक र जिन्सी सामग्रीसमेत घूस लिने क्रम बढेको छ, पैसा लिए पनि दोस्रो, तेस्रो र चौथो व्यक्तिको समेत प्रयोग गर्न थालिएको छ, यसले पनि अनुसन्धानमा प्रमाण पुर्याउन कठिनाइ हुने गरेको छ।’