नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले संघीय संरचनाअनुसार संगठनको मस्यौदा निर्माण कार्यलाई अन्तिम रूप दिने गरी छलफल गरेको छ।
नेविसंघका महामन्त्रीहरू कुन्दनराज काफ्ले, आनन्दराज त्रिपाठी र सरोज काफ्ले रहेको मस्यौदा निर्माण समितिले देशको संरचनाअनुसार तीनै तहमा संगठनको प्रतिनिधित्व रहने गरी मस्यौदा बनाइरहेको हो।
'भोलि (शुक्रबार) सम्म मस्यौदा बनाइसकिन्छ। मस्यौदा निर्माण समितिसँग पटक/पटक छलफल भइराखेका छन्। आज पनि छलफल छ' नेविसंघ सभापति नैनसिंह महरले सेतोपाटीसँग भने, 'तल्लो तहसम्म संगठनको एकाइ रहने गरी मस्यौदा बनाइएको छ। मस्यौदाका खाकामाथि छलफल गरिराखेका छौं।'
मस्यौदालाई अन्तिम रूप दिएपछि बस्ने नेविसंघ केन्द्रीय कार्यसमिति बैठकले १२ औं महाधिवेशनको मिति, समय र ठाउँ तोक्छ।
'हामी छिट्टै केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति तय गर्छौं' महरले भने, 'मंसिरभित्र नै महाधिवेशन सक्ने गरी तयारी भइराखेको छ।'
नेविसंघ महाधिवेशनका लागि केही विवाद छन्। केही क्याम्पसमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन। ती क्याम्पसबाट प्रतिनिधि आउन पाएका छैनन्। यस्तै, उमेर हद विवाद पनि उब्जिएको छ। ११ औं महाधिवेशनका बेला १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने विधानमै उल्लेख गरिएको छ।
अहिले ३२ वर्षे उमेरहद लागू गर्न नहुनेमा अधिकांश नेविसंघ नेता तथा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन्।
'उमेर हद लागू गर्ने या नगर्ने भन्नेबारे महाधिवेशनकै बन्द सत्रमा छलफल गरी त्यही बेला टुंग्याउन सकिन्छ' उनले भने, 'अहिले विधानले दिएकै समयभित्र महाधिवेशन सक्ने गरी तयारीमा सबै जुटौं।'
महाधिवेशन एक्लै गर्न नसकिने भन्दै महरले विद्यार्थी नेताको साथ र पार्टी नेतृत्वको सहयोग हुनुपर्ने बताए।
'विवाद भएका क्याम्पसमा अधिवेशन गर्न सबैले सहयोग गर्नुपर्छ। महाधिवेशनको विकल्प महाधिवेशन नै हो। महाधिवेशन गराउने पक्षमा म दृढताका साथ उभिएको छु। कुनै शंका नगर्न आग्रह गर्छु' सभापति महरले सेतोपाटीसँग भने, 'महाधिवेशनको माहोल तयार गर्नुपर्यो।'
४२ क्याम्पस र २३ जिल्लामा नेविसंघ पूर्ण कार्यसमिति छैन। केही पदहरू रिक्त छन्।
'खाली ठाउँमा नियुक्त गर्न मलाई विधानले नदिएको पनि होइन। तर, सभापतिले कलम चलाउन सकेको छैन' उनले भने, '११ जिल्लामध्ये कुनै कुनै जिल्लामा १७ वर्षदेखि विवाद छ। विवादको पगरी मेरो टाउकोमा गुथिएको छ। बाहिर निस्कने प्रयास गरें। प्रतिनिधिहरू पठाएँ।'
जिल्ला र केही क्याम्पसहरूमा प्रतिनिधि पठाउँदा छलफल नगरिएको भन्दै महामन्त्री काफ्ले समूह महरसँग असन्तुष्ट छ।
'१४ महिनासम्म अधिवेशन गराउन प्रयत्न गरेँ। तीन महिनाभित्र गराउनुपर्ने थियो। मिलाउनुपर्छ भनेर बसेको हुँ। समूहगत गुटहरू हुँदा समस्या समाधान गर्न नसकिएका हुन्' उनले भने। ७७ जिल्लामध्ये ६ जिल्लामा विवाद रहेको उनले बताए।
केही क्याम्पसमा नेविसंघका पाँच वटासम्म समानान्तर समिति छ।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह पार्टीभित्र रहेका गुटजस्तै त्यसको छायाँ नेविसंघमा पनि देखा परेको हो।
'१८/१९ सय क्याम्पसमध्ये सात/आठ क्याम्पसमा विवाद होला, अन्यत्र केही समस्या छैन' उनले भने।
सिटिइभिटी र फोर्सबाहेक अन्यत्र विवाद नभएको उनले बताए।
'महाधिवेशन गर्ने सबैको साझा संकल्प हो भने सभापतिलाई साथ चाहिन्छ। हरेक कुरा सहमतिमा गर्छु भनेको छु' उनले भने, 'विवादास्पद ठाउँमा पनि सबैको सहमतिमा अधिवेशन टुंग्याउन चाहन्छौं।'
संभवत भदौ ८ गते केन्द्रीय कार्यसमिति बैठक बसेर विवादका विषय, संघीय मस्यौदाका खाका र महाधिवेशनकाबारे छलफल हुने उनले बताए। महाधिवेशन टार्ने खेल नभएको उनको भनाइ छ। मंगलबार वरिष्ठ नेता पौडेलले निर्देशक समितिका कारण महाधिवेशन नहुने खेल भइरहेको बताएका थिए।
'म महाधिवेशन गराउन प्रतिवद्ध छु। साथीहरूको साथ र नेताहरूको सहयोग चाहिन्छ। महाधिवेशन गर्ने जिम्मेवारीबाट म यताउता हुन्न' सभापति महरले भने। महर नेतृत्वको कार्यसमितिको म्याद मंसिर २ गतेसम्म थप गरिएको छ।