हिमाल आरोहण र पदयात्रा क्रममा पर्यटकको ‘फर्जी’ उद्धारले नेपाली पर्यटन क्षेत्रमाथिको विश्वासमै प्रश्न उठेको छ।
‘फर्जी’ उद्धार गरेर अत्यधिक बिमा रकम दाबी गरिएको भन्दै विदेशी कम्पनीहरूले त्यस्ता एजेन्सीमाथि कारबाही गर्न सरकारलाई भदौ १६ सम्मको अल्टिमेटम दिएका छन्। त्यसपछि नेपाल भ्रमण गर्ने पर्यटकको बिमा नगर्ने उनीहरूको चेतावनी छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार बेलायत, अस्ट्रेलिया र न्यूजिल्यान्डका बिमा कम्पनीहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाली एजेन्सीले ‘नक्कली’ बिमा दाबी गर्न पर्यटक बिरामी परेको बहानामा ‘फर्जी’ उद्धार गर्दै आएको ती कम्पनीको भनाइ छ।
नेपाल आउने ८० प्रतिशत यात्रुको बिमा तिनै कम्पनीमार्फत् हुने स्रोतले बतायो।
हिमाल आरोहण र पदयात्रामा नेपाली एजेन्सीबाट हुँदै आएको संगठित बिमा ठगीबारे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले केही समयअघि अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो।
ट्रेकिङ तथा रेस्क्यू कम्पनी, हेलिकप्टर सञ्चालक र अस्पतालहरूले संगठित रूपमा यस्तो ठगी गर्दै आएको एएफपीको दाबी छ। उच्च हिमाली क्षेत्रमा गएका पर्यटकलाई हेलिकप्टर ‘चार्टर’ गरी उद्धार गरेको बहानामा बढी बिमा दाबी गरिएको ती कम्पनीहरूले बताएका छन्।
पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले भने त्यस्ता एजेन्सीमाथि छानबिन भइरहेको र बिमा रोकिने अवस्था आउन नदिने बताएका छन्।
‘विवादमा परेका हेलिकप्टर कम्पनीबारे नागरिक उड्डयन प्राधिकरणले हेरिरहेको छ,’ उनले सेतोपाटीसँग भने, ‘अस्पताल र ट्रेकिङ कम्पनीमाथि गृह मन्त्रालय र राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ।’
‘हामीले प्रतिवेदनको सिफारिसअनुसार कारबाही अघि बढाएका छौं। फजी उद्वारमा संलग्न हेलिकप्टर कम्पनीको निषेधित क्षेत्र उडान अनुमति स्थगित गरिदिएका छौं,’ उनले भने।
नेपाली पर्यटनको मुख्य आकर्षण पदयात्रा र हिमाल आरोहण हो। सन् २०२० सम्म वर्षमा २० लाख पर्यटक ल्याउने सरकारको लक्ष्य छ। त्यसैको मुखमा अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूबाट यस्तो चेतावनी आउनुले नेपालको पर्यटन क्षेत्रमाथिको विश्वास धमीलो हुन पुगेको छ।
मन्त्रालयले यसबारे अध्ययन गर्न सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। त्यही बेला अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूबाट चेतावनी आउनुले उनीहरूलाई सरकारी अध्ययनप्रति पनि विश्वास नभएको देखिन्छ।
ती कम्पनीले नेपालबाट हुने बिमा दाबीको ३० प्रतिशत नक्कली भएको जनाएका छन्। यस्तो प्रवृत्ति रोक्न उनीहरूले मन्त्रालयलाई पत्र लेखेका थिए।
फर्जी काम गरेर बिमा कम्पनीलाई नोक्सानी पुर्याउने एजेन्सीमाथि कारबाही नभए अर्को वर्षबाट बिमा ४ हजार डलरमा सीमित गरिदिने उनीहरूले चेतावनी दिएको मन्त्रालय स्रोतले बतायो।
सन् २०१७ मा पदयात्रा र हिमाल आरोहण गर्न २ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए। तीमध्ये ५० हजारभन्दा बढी उच्च हिमाली क्षेत्र पुगेका थिए।
पर्यटन व्यवसायीले बिमा रोकिएको खण्डमा नेपालमा पर्यटकको खडेरी पर्नसक्ने बताएका छन्।
‘खर्च र आम्दानीका हिसाबले हिमाल आरोहण र पदयात्रा नै मुख्य स्रोत हुन्। यसमा बिमा बन्द भए अरू उद्देश्यले आउने पर्यटकलाई पनि प्रभाव पर्नेछ,’ एक व्यवसायीले भने, ‘यसमा सरकार चनाखो मात्र होइन, सक्रिय भएर कारबाही गर्नुपर्छ।’
हिमाल आरोहण वा पदयात्रामा गएका कुनै विदेशीको उद्धार गर्दा संगठित रूपमा कमाइ हुने गरेको पर्यटन मन्त्रालयकै अधिकारीले बताउँदै आएका छन्। यात्रु सामान्य बिरामी हुँदा पनि तत्काल उद्धार गरेर हेलिकप्टरमा काठमाडौं ल्याइने र अस्पतालमा महँगो उपचार गराउने प्रवृत्ति रहेको एक अिधकारीले बताए।
‘उद्धार गर्न आवश्यक नभएको पर्यटकलाई पनि डर देखाएर हेलिकप्टर मगाइन्छ र कुस्त रकम असुल्ने गरिन्छ,’ हिमाल आरोहण दलमा पटक–पटक गएका ती अधिकारीले भने।