आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने विमस्टेक सम्मेलनमा मुख्यतया पाँच विषयमा छलफल हुने भएको छ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका अनुसार सम्मेलनमा बिमस्टेक राष्ट्रबीच कनेक्टिभिटीको विषयले सबैभन्दा धेरै प्राथमिकता पाउनेछ। सम्मेलनका दौरान बिमिस्टेक विद्युतीय प्रशारण लाइन (एमओयू अन ग्रिड) मा हस्ताक्षर हुनेछ।
नेपालसहित श्रीलङ्का, बंगलादेश, भारत, म्यानमार, भुटान र थाइल्याण्ड बिमस्टेकका सदस्य छन्।
नेपालले भारत र बंगलादेशसँग विद्युत खरिद सम्झौता गरिसकेको छ। ज्ञवालीले नेपाल छोटो समयमै विद्युत उत्पादनमा सर प्लसमा जाने अवस्था रहेकाले सम्झौता नेपाललाई फाइदाजनक हुने बताए। ‘त्यसै पनि यी मुलुकहरु सबैभन्दा कम अन्तरघुलित छन्’, ज्ञवालीले भने, ‘कनेक्टिभिटी बढाउने विषयमा छलफल हुनेछ। एयर कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीमा छलफल हुनेछ।’
सम्मेलनको दौरान नेपाल र भारतबीच रेल निर्माण सम्बन्धि सम्झौता हुँदैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतामा हस्ताक्षर गर्नेछन्।
त्यस्तै सम्मेलनमा गरिबी निवारणको विषयमा दोस्रो प्राथमिकतामा परेको छ।
बिमस्टेक आबद्ध राष्ट्रमा कुल २० प्रतिशत जनसंख्या गरिब छन्। त्यसैगरि अन्तर्राष्ट्रिय व्यापार र लगानीका विषयमा समेत सहभागि राष्ट्रबीच छलफल हुनेछ। ‘बिमस्टेक राष्ट्रबीच साढे पाँच प्रतिशत मात्र व्यापार छ’, ज्ञवालीले भने, ‘लगानी वृद्धि गर्ने विषयमा छलफल हुनेछ।’
ज्ञवालीले विमिस्टेक बैंक स्थापना नभए विश्व बैंक तथा एसियाली विकास बैंक मार्फत यी क्षेत्रमा लगानी वृद्धि गर्नेबारे छलफल हुने बताए। त्यस्तै भन्सार दरको न्यूनिकरण एवम् सहज सञ्चालनमा समेत छलफल केन्द्रीत हुने ज्ञवालीले जानकारी दिए। ‘विभिन्न ट्यारिफ हटाउने विषयमा छलफल हुन्छ’, ज्ञवालीले भने।
चौथो प्राथमिकतामा भने जलवायू परिवर्तनको विषयलाई दिइएको छ। बिमस्टेकमा आबद्ध मुलुकहरुको कार्बन उत्सर्जनमा निकै न्यून भूमीका रहेको तर असर भोगिरहेकाले कसरी अन्तर्राष्ट्रिय रुपमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने ज्ञवालीले बताए।
प्राथमिकताको पाँचौ विषय भने विकास र सुरक्षा चुनौती रहेको ज्ञवालीले बताए। ‘सुरक्षाका पुराना चुनौतीहरु लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता विषयमा छलफल हुनेछ’, ज्ञवालीले भने, ‘नयाँ चुनौतीका रुपमा देखा परेको आतंकवादका विषयमा पनि छलफल हुनेछ।’
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्मेलन फलदायी बनाउन बिमिस्टेकको सचिवालय स्थापना र कर्मचारीहरुको व्यवस्थापन लगायतका विषयमा समेत छलफल अगाडि बढ्ने बताए। त्यस्तै बिमस्टेक दौरान बुद्ध सर्किटका विषयमा समेत छलफल हुनसक्ने उल्लेख गरे।
‘त्यस्तो सर्किटको सुरुवात बुद्धको जन्मस्थलबाट हुन्छ’ ज्ञवालीले भने, ‘बिमस्टेकका राष्ट्रहरुहरुमा बुद्धसँग सम्बन्धित महत्वपूर्ण क्षेत्रहरु छन्। बंगलादेशमा समेत छ।’
बिमस्टेकका राष्ट्रका छलफलका लागि तय भएका बुँदा १६ वटासम्म भएकाले त्यसलाई घटाएर साघूँरो बनाउने तयारी भैरहेको ज्ञवालीले बताए। ‘केही विषयहरु मर्ज गर्ने भन्ने कुरा हो’, ज्ञवालीको भनाई थियो।
बिमस्टेक सम्मेलनको १४ गते उद्घाटन हुनेछ भने १५ गते काठमाडौँ घोषणापत्र जारी गरेर सकिनेछ। त्यसअघि १२ गते सचिव स्तरिय र १३ गते विदेशमन्त्रीस्तरीय बैठक हुनेछ। नेपालले सम्मेलनका लागि ‘शान्त, समृद्ध र दिगोपनाका लागि बंगालको खाडी’ नारा दिएको छ।