सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बिहान बालुवाटरमा बसेको बैठकले कञ्चनपुर घटनाका दोषी पत्ता लगाएर कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।
कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या र वास्तविक दोषीलाई प्रहरीले 'उन्मुक्ति' दिएको विरोधमा चलेको आन्दोलन उग्र बन्दै गएपछि त्यसबारे छलफल गर्न नेकपा बैठक बसेको हो। शुक्रबार प्रहरीले चलाएको गोली लागेर सनी खुनाको मृत्यु भएको थियो भने ५ जना घाइते छन्।
कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा (कर्फ्यू) जारी छ।
प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी बैठकमा देशभर बलात्कार र हत्या हिंसाका घटना बढेर गएकोबारे छलफल भएको थियो।
'बलात्कारमा दोषी जो सुकै भए पनि पत्ता लगाउने र कडाभन्दा कडा कारबाही गर्ने दिशातिर गम्भीरतापूर्वक अघि बढ्ने बैठकको निष्कर्ष हो' बैठकका निर्णयबारे सेतोपाटीलाई जानकारी दिँदै नेकपा नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'बैठक कञ्चरपुर घटनाबारे केन्द्रीत रह्यो।' देशमा पछिल्लो समय बलात्कार, हत्या हिंसाका घटना बढेको भन्दै घटनाका दोषीलाई कारबाही गर्न नेकपाले सरकारलाई आग्रह गरेको हो।
'बलात्कार, हत्याहिंसाजस्ता विकृति बढ्न नदिन तथा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सघाउन सबै पक्षलाई अपिल गर्न पनि आग्रह गरिएको छ' श्रेष्ठले सेतोपाटीसँग भने। साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा साउन ११ गते उखुबारीमा फेला परेको थियो।
प्रहरीले घटना भएको २४ दिनपछि गत सोमबार भीमदत्त नपा १९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई निर्मला हत्याको आरोपीको रूपमा पक्राउ गरी सार्वजानिक गरेको थियो। निर्मलाका परिवार, आफन्त तथा स्थानीय बासिन्दाले प्रहरीले मुख्य दोषी पहिचान गर्न नसकेको र मानसिक अवस्था गुमाएका विष्ट घटनाको दोषी हुन नसक्ने भन्दै स्थानीय प्रशासनविरुद्ध आन्दोलन गर्दै आएका छन्।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई मन्त्रालय फिर्ता बोलाएर त्यो ठाउँमा प्रजिअ तारानाथ अधिकारी र प्रहरी प्रमुखमा कुवेर कठायतलाई जिम्मेवारी दिएको छ। स्थानीय प्रशासनले घटनाका दोषी पहिचान गर्नका लागि गम्भीरतापूर्वक ध्यान नदिएको भन्दै आन्दोलनरत पक्षले प्रजिअ खड्का र एसपी विष्टको राजीनामा माग्दै आएका थिए।
घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गत बिहिबार सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई खोजी गरी कारबाही गर्न सत्तारुढ नेकपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले पनि सरकारसँग माग गरेका छन्। घटनाबारे देशभर विरोध भइराखेका छन्।