नेपाली कांग्रेसले महासमिति भेला मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति भेलाको मिति र स्थान तय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीलाई जानकारी दिए। पार्टी सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको मितिलाई केन्द्रीय सदस्यले पारित गरेका हुन्।
पार्टीलाई संघीय ढाँचामा लैजान बिहिबार सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन समिति गठन गरिसकेका छन्। उक्त समितिले बनाएको मस्यौदामाथि जिल्ला तहसम्मै छलफल गरेर निर्णयार्थ महासमिति बैठकमा पेश गर्ने तयारीमा कांग्रेस छ। विधान संशोधन समितिले शुक्रबारदेखि काम थालिसकेको छ।
समितिमा जिल्ला सभापतिहरूलाई पनि प्रतिनिधित्व गराउनुपर्ने माग वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्। वैशाख १६ मा सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले जिल्ला सभापति र महासमिति भेला गर्ने निर्णय गरेको थियो।
सभापति भेला गरिसकेको कांग्रेसले अब महासमिति भेला गर्ने निर्णय गरेको हो। भदौमा महासमिति भेला गर्ने भनिए पनि तीन महिना ढिला गरी महासमिति भेला बोलाइएको हो। कांग्रेसको विधान संशोधन महासमिति भेलाबाट गर्ने नियम छ।