साउन ९ गते कांग्रेस केन्द्रीय सदस्य, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच धनगढीमा अचानक भेट भयो।
कोइराला कार्यकर्ता भेटघाटका लागि धनगढी पुगेका थिए। सिंह दार्चुलाबाट धनगढी झरेका थिए। पार्टी सभापतिको दौडका क्रममा दुबैले एकै ठाउँ कार्यकर्ता भेटे।
बाह्रौं महाधिवेशनका निर्वाचित महामन्त्री सिंह नेतृत्व परिवर्तन र आफ्नो भूमिका खोज्दै जिल्ला भ्रमणमा निस्किन थालेका हुन्। तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य बसेर पौडेल समूहलाई सघाएका सिंह आफू यसपालि सभापतिको उम्मेद्वार हुने बताउँदै आएका छन्।
धनगढीमा कोइराला-सिंह दुबैले पार्टी कार्यालयमा कार्यकर्ताको कुरा सुनेर धारणा राखेका थिए। पहिले कोइराला बोलेका थिए।
उनले भने, ‘नेपाली कांग्रेसमा तपाईँहरूले धेरै निराशा मात्रै देख्नुभयो, प्रकाशमानजी यहीँ हुनुहुन्छ, हामीहरू मिलेर नेपाली कांग्रेसलाई पहिलेकै जस्तो बनाउँछौं।’
हाम्रो लडाइँ, विकृति विसंगतिविरूद्धको हो भन्दै कोइरालाले भने, ‘पहिले त पार्टीभित्रकै विसंगतिसँग लड्नु छ।’ कोइरालाले विधानसम्मत् पार्टी चल्नुपर्छ भनी लडिरहेको बताए।
उनले झन्डै आधा घन्टा बोलेपछि सिंहले बोल्न सुरू गरे। कोइरालाले ‘मिलेर पार्टी बनाउने’ बताएपछि कार्यकर्तासामू सिंहले पार्टी नेतृत्वमा आफ्नो दाबी घुमाउरो पाराले राखे।
सुरूमा ‘कुनै नेतासँग केही गुनासो छैन’, भन्दै बोल्न सुरू गरेका उनले एक मात्र चिन्ता अब पार्टी जोगाउने हो भने। त्यसपछि प्रश्न गरे, ‘पार्टी जोगाउने कि ‘विशेष नेता’लाई जोगाउन पार्टीलाई तिलाञ्जली दिने?’
त्यसपछि उनले नेतृत्वमा आकांक्षा र त्यसमा आफ्नो योग्यता प्रष्ट्याए।
‘अहिले मजबुत र सुधारिएको कांग्रेस चाहिएको छ। हाम्रो ध्यान त्यतातिर हो। पार्टी जोगाउनु छ। म गणेशमानको छोरा हुँ, नेविसंघ विगठन गर्दा गिरिजाबाबुकै निर्णयविरुद्ध आवाज उठाएको हुँ, खारिएर यहाँसम्म आएको हुँ,’ उनले भने, ‘उप-सभापति, महामन्त्री भइनैसकेँ, संसदमा बारम्बार पुगेँ, उपप्रधानमन्त्री भएँ। अवसर अझै छ। पार्टी मजबुत बनोस् भन्ने मेरो चाहना हो।’
सेतोपाटीसँगको कुरामा पनि सिंहले अहिले सभापतिमा दाबी गरिरहेका नेताभन्दा आफू योग्य उम्मेदवार भएको बताए। ‘पार्टी एकीकरण हुँदा उप-सभापति, संसदीय दलको उपनेता, निर्वाचित महामन्त्री भइसकेको हुँ, अब मैले रोज्ने ठाउँ पार्टी सभापति नै हो,’ सिंहले भने।
महाधिवेशनमा जसलाई कार्यकर्ताले रूचाउँछन्, त्यही अनुसार टिम बनाएर जाने उनले बताए। ‘अहिलेको नेतृत्वबाट कांग्रेस चल्दैन, यसलाई जसरी पनि विस्थापित गराउनुपर्छ भन्नेमा प्रायः हामी सबै नेता एकमत छौं,’ उनले भने, ‘पार्टी महाधिवेशनको सन्दर्भमा सबैले रुचाएको व्यक्तिलाई अगाडि ल्याएर टिम बनाउँछौं।’
सिंहले सहयोग गरेका रामचन्द्र पौडेलले हारे पनि तेह्रौं महाधिवेशनमा महामन्त्री लगायत केन्द्रीय सदस्यहरूमा पौडेल समूहले राम्रै जित निकालेको थियो।
संसदीय दल निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध सिंहले उम्मेदवारी दिएका थिए। आफ्नो उमेदवारीमा महामन्त्री शशांक कोइरालाले असहयोग गरेकोमा उनी आक्रोशित छन्।
सभापति शेरबहादुर देउवामाथि कठोर आलोचना गर्दै आएका सिंह महामन्त्री कोइरालाको भूमिकासँग पनि सन्तुष्ट छैनन्। सभापति देउवा र महामन्त्री शशांक दुबैबाट पार्टी नचल्ने बताउँदै आएका छन्।
अहिलेको नेतृत्वले कांग्रेसलाई इतिहासमै सीमित पार्न खोजेको सिंहको आरोप छ। ‘पार्टीको भविष्य, जोगाउने कुरा गर्दा, विधिसम्मत तरिकाले चलाउनुपर्छ भन्दा कुन गुट उपगुटको कुरा भयो?,’ सिंहले भने, ‘कांग्रेस समाप्त भयो भने रहन्छ गुट? नेपाली कांग्रेसकै नेता कार्यकर्ताले नबुझ्ने हो भने कसले सुधार गर्ने?’
जुन विधानले देउवा सभापति भए त्यही विधानको काम, कर्तव्य र अधिकार कुल्चेको सिंहको आरोप छ। ‘जुन विधानबाट देउवाजी सभापति हुनुभयो, त्यो विधानको काम कर्तव्य, अधिकारको काम सभापतिले नगर्ने? विधान मिचेर गर्ने?,’ उनले भने, ‘हामीले केन्द्रीय समिति बैठक बहिस्कार गर्यौं, वास्तै हुँदैन। अहिले केपी ओली र देउवाको शैली उस्तै छ।’
कार्यकर्ता भेटको सिलसिलामा डडेल्धुरा पुग्दा सिंहले सभापति देउवासँग पार्टी कार्यकर्ता असन्तुष्ट पाएको बताए।
सभापति देउवाले जिल्ला तहमा सिंहसँग नभेट्न ‘मौखिक सर्कुलर’ नै गरेको उनका सहयोगीले बताए। स्थानीय तह निर्वाचनको उम्मेदवारी चयनमा सभापतिसँग असन्तुष्ट उनीहरु आक्रोश पोख्न कार्यकर्ता आइपुगेरै छोडे।
सिंहलाई देउवासँग चिढिएको डडेल्धुराको समर्थन बटुल्ने त्यो सुनौलो अवसर थियो। कार्यकर्ताको आक्रोश सम्बोधन हुन नसकेको बुझेका सिंह दार्चुलाबाट फर्किने क्रममा डडेल्धुरा पसेका थिए।
डडेलधुरामा कार्यकर्तासँग सिंहले भने, ‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो, यो प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चलेन। पार्टीलाई नियमसंगत चलाउने हो। कुनै व्यक्ति वा नेताको प्रभुत्व बढाउने हैन,’ सिंहले भने, ‘यसरी चलाउँछु भन्ने नेतामध्ये बलियो ग्राउन्ड भएको व्यक्ति म पनि हुँ।’
महामन्त्री कोइरालाले कोइराला परिवारबाट शेखर, सुजाता र आफूमध्ये एक जना पार्टी नेतृत्वमा उठ्ने बताएपछि सिंह दबाबमा छन्। यी तिनैबीचको अप्ठेरो टार्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सहयोग पाउने आशमा सिंह छन्।
पौडेलसँग सिंहको सम्बन्ध सुमुधुर नै छ। तर, पौडेल आफैं पनि सभापतिको दौडमा छन्।
तेह्रौं महाधिवेशनमा तेस्रो धार बनाएर सभापतिमा लडेका कृष्णप्रसाद सिटौला देउवाविरूद्ध खुलेरै बोलिरहेका छन्। उनले देउवा नेतृत्वबाट कांग्रेसको भविष्य सम्भव नरहेको बताइसकेका छन्। तेह्रौं महाधिवेशनमा छुट्टै उम्मेदवारी दिएको ‘सिटौला समूह’ले अन्तिममा देउवालाई सभापतिमा सघाएको थियो। सिटौला समूह अहिले अस्तित्वमा नरहे उनको भूमिका पनि आगामी सभापति चयनमा महत्वपूर्ण हुन्छ।
डा. शेखर युवापुस्ताको साथ लिएर पार्टीको नेतृत्व सम्हाल्न अग्रसर भइसकेका छन्। जिल्ला दौड र नेता-कार्यकर्ता भेटमा सबैभन्दा सक्रियता उनकै छ।
उनले आफ्नो महामन्त्रीमा युवा नेता गगन थापालाई ल्याउन चाहेको उनी निकट एक नेताले बताए। उनका अनुसार कोइरालाले थापासँग तीन चरणसम्म गफ गरिसकेका छन्।
‘पार्टी संकटमा छ, तपाईं र म मिलेर काम गरौं, पार्टी बचाऔं,’ कोइरालाले थापालाई भनेको ती नेताले बताए।
अघिल्लो महाधिवेशनमा महामन्त्रीमा शशांक र आफ्नै ससुरा अर्जुननरसिंह केसीविरूद्ध उठेर झन्डै छ सय मत ल्याएका थापा महामन्त्रीमा देउवाइतर पक्षका ‘निर्विकल्प’ उमेदवारजस्तै हुन्।
देउवा आफ्नो समूहबाट फेरि पनि पार्टी सभापतिमा उठ्ने निश्चितजस्तै छ। उनलाई समूहबाट कसैले चुनौती दिएका छैनन्। महामन्त्रीमा भने देउवाले कसलाई उठाउछन् टुंगो छैन।
देउवाको अझै पार्टीमा बलियो पकड छ। त्यो पकड चिर्न देउवाइतर समूह एक ठाउँ उभिनुपर्ने हुन्छ।
‘देउवाको चुनौती चिर्न शेखर समूहले पौडेल, सिंह, सिटौला र थापाहरूको युवा जमातलाई एकैठाउँ ल्याउन सक्नुपर्छ। सुशील कोइरालापछिका नेतामा यो गुण देखिँदैन,’ एक जना युवा नेताले भने।
‘पौडेल, शेखर, सिंह जोसुकै सभापतिका लागि लडे पनि देउवाइतरको निर्णायक समूहलाई विश्वास दिलाउन सक्नुपर्छ,’ ती नेताले भने, ‘अबको चुनौती भनेकै यही हो, नत्र फेरि देउवाले नेतृत्व लैजान्छन्।’
पहिले प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गरेका नेताहरू यतिबेला देउवासँग चिढिएका छन्। उनीहरू आगामी महाधिवेशनमा देउवालाई नेतृत्वमा देख्न चाहँदैनन्।
मुलुकभर कांग्रेसमा परिवर्तनको आकांक्षा पनि तीब्र छ, त्यसले पनि देउवालाई अप्ठ्यारो पार्छ।