श्रीलंका र म्यानमारका राष्ट्रपतिद्वय भ्रमणमा आउने भएपछि लुम्बिनीलाई सिंगारिएको छ। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने श्रीलंकन र म्यानमारका राष्ट्रपतिद्वय लुम्बिनीमा आउँदै छन्।
बिमस्टेक सम्मेलन सुरू हुनुअघि भदौ १३ गते म्यानमार राष्ट्रपति विन मिन्त र सम्मेलन समापनपछि भदौ १६ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी भ्रमणमा आउने कार्यक्रम तय भएको छ।
दुईदेशका राष्ट्रप्रमुख लुम्बिनी आउने भएपछि लुम्बिनीको सरसफाइ गरी सिंगारेर चिटिक्क पारिएको छ।
अलग-अलग दिन भ्रमणमा आउने राष्ट्रपतिद्वयको साथमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विकास कोषका उपाध्यक्षसहित गाईड र सुरक्षाकर्मी हुनेछन्।
राष्ट्रपतिद्वय विन मिन्त र सिरिसेनाले मायादेवी मन्दिरमा पूजा गरी विभिन्न गुम्बाहरूको अवलोकन समेत गर्नेछन्। त्यसपछि उनीहरूलाई लुम्बिनीको गुरुयोजनाबारे विस्तृत जानकारी गराइने कार्यक्रम तय गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख ईञ्जिनियर सरोज भट्टराईले जानकारी दिए।
‘राष्ट्रपतिद्वयले मायादेवी मन्दिर अवलोकनपछि पिपलको फेदमा आफ्नो विधि परम्परा अनुरुप आफ्नो देशका भन्ते र नेपाली भन्तेसहित पूजा गर्नुहुने छ त्यसपछि लुम्बिनी विकास गुरुयोजनाबारे जानकारी गराइने छ,’ उनले भने ।
म्यानमार र श्रीलंकाका राष्ट्रप्रमुखहरू आउने भएपछि आफूहरू उत्साहित भएको उनले बताए । ‘जापनिज प्रोफेसर केन्जो टांगेलाई बृहत लुम्बिनी गुरुयोजना बनाउन लगाउने संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्त पनि म्यानमारकै नागरिक हुनुहुन्थ्यो, अहिले पुनः म्यानमारका राष्ट्रप्रमुख आउने भएपछि अत्यन्त उत्साहित भएका छौं,’ उनले भने ।
सन् १९६७ अप्रिल २३ तारेखमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न गुरुयोजना तयार गरी विकास गर्ने सोच अघि सारेका थिए। उथान्तले नै जापानिज वास्तुविद् प्रोफेसर केन्जो टांगेलाई गुरुयोजना बनाउने जिम्मा दिए अनुरुप लुम्बिनीको बृहत गुरुयोजना निर्माण भएको हो।
टांगेले बनाएको गुरुयोजना अनुरुप नै लुम्बिनीमा राष्ट्रिय अन्तराष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परालाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तराष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र संवर्द्धन गर्ने लक्ष्य राखेको पाइन्छ।
राष्ट्रपतिद्वय लुम्बिनी आउने भएपछि लुम्बिनी लगायत आसपासका जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। राष्ट्रपतिद्वयको सुरक्षाका लागि ५ सय नेपाली सेना, ५ सय सशस्त्र प्रहरी र ६ सय नेपाल प्रहरी गरी एक हजार ६ सय सुरक्षाकर्मीहरू परिचालन हुनेछन्।
पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना सुरक्षामा रहने छन्। त्यसको साथै भिभिआइपी सुरक्षाको लागि नेपाली सेनाको केन्द्रीय निकायबाट नै सुरक्षा टोली आइसकेको छ। यस्तै, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि गोप्य रूपमा परिचालन हुनेछन्।
दुवै देशका राष्ट्रपतिलाई भिभिआइपी सुरक्षा दिइने भएकाले सुरक्षामा कुनै कमी नहुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना तयार पारी कार्य सुरू गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए।
राष्ट्रपतिद्वयको आगमनका दिन १३ र १६ गते केही समयका लागि सर्वसाधारण, श्रद्धालु, भक्तजन, पर्यटक लगायत सबैलाई लुम्बिनी विकास कोष क्षेत्रमा प्रवेश रोक लगाइने भएको छ।
दुवै देशका राष्ट्रपतिहरू काठमाडौंबाट विमान चार्टर गरेर भैरहवा विमानस्थलमा अवतरण गरी त्यहाँबाट हेलिकप्टरमार्फत् लुम्बिनी पुग्नेछन्।