राष्ट्रिय मानवअधिकार आयोगले पूर्वलडाकु लेनिन विष्टलाई बैंकक जान रोकिएको घटनाबारे अध्यागमन विभाग र गृह सचिवसँग स्पष्टिकरण लिने भएको छ। आयोगले गृहसचिव प्रेम राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई सो घटनाबारे आफैं उपस्थित भई जवाफ दिन मंगलबार चिठी लेखेको हो।
विष्टलाई बैंकक जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा रोकिएको घटनामा गम्भीर हुँदै आयोगले दुबैलाई आइतबार उपस्थित भएर जवाफ दिन चिठी लेखेको स्रोतले बतायो।
‘कुनै पनि व्यक्तिलाई स्वस्फूर्त हिँडडुलमा रोक लगाइएको घटनालाई आयोगले गम्भीरतापूर्वक लिएको छ,’ आयोग स्रोतले भन्यो, ‘यस घटनाबारे आफैं उपस्थित भएर जानकारी दिन गृह सचिव र अध्यागमन विभाग प्रमुखलाई चिठी लेखिएको हो।’
बैंकक जाने क्रममा विष्टलाई गृह मन्त्रालयको निर्देशनमा अध्यागमन विभागले रोकको थियो। शुक्रबार ९ः५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका विष्टलाई अध्यागमनले ‘माथिको आदेश’ भन्दै रोकेको थियो।
अध्यागमन विभागले लेनिनलाई ‘अस्थायी कालोसूची’मा राखेको पत्र थमाएर फर्काएको थियो। त्यस्तो कार्यले स्वतन्त्रपूर्वक हिँडडुलको अधिकार कुण्ठित भएको भन्दै विष्टले आयोगमा उजुरी दिएका थिए।
‘यो घटनामा अायोगले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ,’ अायोग स्रोतले भन्यो, ‘अनुसन्धान सकिएपछि प्रेसलाई विस्तृतमा जानकारी दिइने छ।’
यसअघि सोमबार प्रधानमन्त्री केपी ओलीले विष्टलाई विमानस्थलबाट रोक्नुको कारणबारे गृहमन्त्री रामबहादुर थापालाई स्पष्टिकरण लिने बताएका थिए।
११ वर्षको छँदा माओवादी युद्वमा होमिएका विष्ट बाल सेना हुन्। २०५९ सालमा उनी माओवादी बाल सेना बनेका थिए।
शान्ति प्रक्रिया आरम्भसँगै शिविर राखिएका उनी अयोग्य लडाकू घोषित भएर घर फर्केका थिए। त्यसयता उनी युद्धमा बालबालिकाको प्रयोग नहोस् भनी अभियान चलाइरहेका छन्।
लेनिनलाई ‘युथ इन कन्फ्लिटः हेलिङ एन्ड पिस–विल्डिङ थ्रो सोसिएल इङ्गेजमेन्ट’ विषयक कार्यक्रमका लागि गत जुलाई २७ मा निमन्त्रणा आएको थियो। बैंककस्थित ‘एसिएन रिसोर्स फाउन्डेसन’ले भिसा, खाने बस्ने व्यवस्थासहित आमन्त्रण गरेपछि नेपालबाट लेनिन र अर्का एक जना हिँडेका थिए। उनीसँगै हिँडेका साथीलाई अध्यागमनले रोकेन।
अन्तर्राष्ट्रिय मञ्चमा बाल युद्व अपराधबारे कुरा उठाउने भयले गृहले आफूलाई रोकेको आरोप विष्टले लगाएका थिए।