म्यानमारका राष्ट्रपति विन मिन्टले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन्।
बिहान साढे नौ बजे चार्टर विमानबाट गौतमबुद्ध विमानस्थल भैरहवा अवतरण गरेका राष्ट्रपति मिन्ट विमानस्थलबाट २२ किलोमिटरको दूरीमा रहेको लुम्बिनीमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुगेका थिए।
लुम्बिनीस्थित म्युजियम परिसरमा हेलिकप्टरबाट अवतरण गरेलगत्तै राष्ट्रपति मिन्ट मायादेवी मन्दिरमा अवलोकन र पूजाको लागि पुगेका थिए। राष्ट्रपति मिन्ट मायादेवी मन्दिरसम्म गाडीमार्फत् पुगेका थिए।
राष्ट्रपति मिन्टलाई ५ नम्बर प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी र लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले मायादेवी मन्दिर बाहिर स्वागत गरेका थिए।
राष्ट्रपति मिन्टले मायादेवी मन्दिर परिसरमा ४५ मिनेट बिताएका थिए। मायादेवी मन्दिर अवलोकनपछि पोखरीको छेउमा रहेको पिपलको बोटमा म्यानमार र नेपालका भिक्षुसहितले पूजा गरेका थिए ।
पूजा लगत्तै राष्ट्रपति मिन्टलाई लुम्बिनी गुरुयोजनाको बारेमा लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी गराए। त्यस्तै, लुम्बिनीको साँस्कृतिक महत्त्वको बारेमा पुरातत्वविद् बसन्त विडारीले जानकारी गराए।
राष्ट्रपति मिन्टलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बुद्धमुर्ति उपहार प्रदान गरेका थिए। मायादेवी मन्दिर अवलोकनपछि लुम्बिनीमा रहेका विभिन्न राष्ट्रका मोनाष्ट्रिहरूको अवलोकन पछि राष्ट्रपति मिन्ट बुधबार दिउँसो ३ बजे काठमाडौं फर्किएका छन्।
बिहिबारदेखि काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति मिन्ट २८ जनाको टोलीसहित बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन्।
राष्ट्रपति मिन्टको आगमनलाई मध्यनजर गरी लुम्बिनी तथा रुपन्देहीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो। मिन्टको सुरक्षाको लागि जिल्ला सुरक्षा समितिले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी गरी १६ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो।
त्यसैगरी भिभिआइपी सुरक्षाको लागि नेपाली सेनाको केन्द्रीय निकायबाट नै विशेष सुरक्षा समूहसमेत लुम्बिनी आएको थियो।
त्यस्तै, १६ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना पनि लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ।