उपचार खर्च बुझाउँन नसक्दा निको भएर पनि अस्पतालमै राखिएका नवलपरासीका एक युवक १६ महिनापछि शुक्रबार घर फर्किएका छन्।
नवलपरासीको प्रतापपुर गोपिगञ्जका २३ वर्षीय सुरज विक २०७४ जेठ १४ गते मोटरसाईकल दुर्घटनामा परी बुटवलको जेनस अस्पतालमा भर्ना भएका थिए ।
दुर्घटनामा परी दाहिने खुट्टा फ्याक्चर भएका सुरजको तीन पटकसम्म अप्रेसन गरी ६ महिनापछि खुट्टा निको भए पनि उपचारमा लागेक रकम बुझाउन नसक्दा अस्पतालमै अघोषित ‘बन्धक’ भएर बसेका थिए।
आर्थिक अवस्था कमजोर भएका सुरज उपचार खर्च बुझाउन नसकी अस्पतालमै बन्धक बनाईएको खबर सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय बुटवलले उनको उद्धार गरेको हो ।
प्रहरीले शुक्रबार जनप्रतिनिधिको रोहबरमा अस्पताल प्रशासन र परिवार बिचमा उपचारवापतको तिर्नुपर्ने रकम आगामी पुषभित्र बुझाउने लिखित सहमतिपछि सुरजलाई परिवारको जिम्मा लगाएको हो।
अस्पताल प्रशासन र विरामीका परिवारको बिचमा गरिएको लिखित सम्झौतामा उपचारको लागि लागेको कुल रकमको २५ प्रतिशत खर्च अस्पतालले छुट गर्ने र बाँकी रकम सुरजका बुवा भगवती विक र दाजु दीपक विकले तिर्नुपर्ने जिम्मेवारी सहित कागज गरिएको छ ।
उक्त कागजमा अस्पतालको तर्फबाट प्रमुख डा. शारद सिंह, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख ध्रुव प्रसाद नेपाल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्ल, बुटवल उपमहानगरपालिका वडा नं. ८ का भिम प्रसाद श्रेष्ठ लगायतले हस्ताक्षर गरेका छन्।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले उपचारको लागि लागेको सबै खर्चको विल अस्पतालले संकलन गरेपछि आशंका लागे परीक्षण गरेर रकम बुझाउन सकिने बताए ।
प्रहरी नायब उपरीक्षक मल्लले खुट्टाको अप्रेसन गर्दा करिब १२ लाख, औषधिवापत फार्मेसीको करिब २ लाख र होटलमा खाना खाएको एक लाख रूपैया गरी करिब १५ लाख रूपैया बुझाउनुपर्ने देखिएको बताए।
परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको कारण उक्त रकम संकलनको लागि विभिन्न सामाजिक संघसंस्थासंग पहल गर्ने उनले बताए ।
उपचारको लागि परिवारको भएको एक कट्ठा जमिन पनि बन्धकी राखेर एक लाख रुपैयाँ ल्याए पनि त्यसले नपुगेपछि छोरालाई घर लैजान नसकेको बुवा भगवती विकले बताए।
दुर्घटनामा परी घाईते भएर अस्पताल आएपछि १६ महिनामा घर फर्किन पाउँदा अत्यन्त खुसी लागेको सुरजले बताए ।