स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने सिके राउतका कार्यकर्ता राम मनोहर यादवको प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएपछि त्यसबारे तीव्र विवाद र प्रतिक्रिया उत्पन्न भएको छ।
राउत र कतिपय मानवअधिकारवादी तथा स्वतन्त्र नगारिकहरूले प्रहरी हिरासतमा भएको बेला यादवको गैर-न्यायिक हत्या भएको दाबी गरेका छन्।
प्रहरीले भने उपचार गराउन लैजाँदा बाटोमै उनको मृत्यु भएको दाबी गरेको छ।
बर्दिया प्रहरीले आफ्नो नियन्त्रणमा रहेका यादवको उपचारका लागि काठमाडौं लैजाने क्रममा भदौ १५ गते बाटोमा मृत्यु भएको जनाएको छ।
प्रहरीले उनको मृत्यु उच्च रक्तचापका कारण मुटुमा समस्या देखिएपछि भएको जनाएको छ।
सिके राउतका प्रवक्ता अब्दुल खानले भने प्रहरीको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन्। यादवलाई गत भदौ ७ गते उपप्रधानमन्त्री उपेन्द्र यादव सहभागी बर्दियाको जिल्ला समन्वय समितिको कार्यक्रमबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी लगायत राउतका कार्यकर्ताले यादवलाई कालो झण्डा देखाएका थिए।
बर्दियाका प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले गुलरियामा जिल्ला समन्वय समितिको छलफल कार्यक्रममा बाँकेको नेपालगञ्जबाट चार जना पुगेर अवरोध गर्न खोजेपछि पक्राउ गरिएको बताए।
‘कालो झण्डा देखाए। राज्य टुक्र्याउने नारा लगाए’, मैनालीले भने, ‘हामीले तत्काल पक्राउ गरेर पूर्जी दियौं। भदौ ८ गते जिल्ला अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखेका हौं।’
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पनि देश विभाजनको पक्षमा नारा लगाएका कारण यादवसहित चार जनालाई नियन्त्रणमा लिइएको सेतोपाटीलाई बताए।
‘उपप्रधानमन्त्री संलग्न कार्यक्रम बिथोल्ने काम गरे। साथै देश टुक्र्याउने नारा लगाए’, कुरुम्बाङले सेतोपाटीसँग भने, ‘देश टुक्र्याउने नारा लगाएपछि हामीले नियन्त्रणमा लिएका हौं। कतिपयलाई हामीले यातना दिएको लाग्न सक्छ, तर उनलाई कुनै याताना दिएको थिएन।’
उनले उच्च रक्तचापका कारण यादव हिरासतमै ढलेपछि तत्काल उपचारका लागि लगिएको बताए।
जिल्ला प्रहरी प्रमुख मैनालीले बोल्दा देब्रे हात काप्ने गरेका यादव उच्च रक्तचाप बढेर ढलेको दाबी गरे।
‘ढलेपछि उनको शरीरको देब्रेतर्फको भागले काम गरेको थिएन, हामीले प्रहरी कार्यालय नजिक रहेको जिल्ला अस्पतालमा दुई तीन मिनेटमै पुर्यायौं’, मैनालीले सेतोपाटीसँग भने।
राउतका प्रवक्ता अब्दुल खानले भने उपेन्द्र यादवको कार्यक्रममा सहभागी भएका यादवलाई शंकाकै भरमा प्रहरीले पक्राउ गरेको दाबी गरे।
‘कालो झण्डा त उनी पक्राउ परेको थाहा भएपछि अन्य साथीहरूले प्रदर्शन गर्दा देखाएका हुन्’, खानले सेतोपाटीसँग भने, ‘उहाँले प्रहरीलाई औषधि माग्दा समेत दिइएन।’
उच्च रक्तचापका बिरामी यादवलाई औषधिसम्म खान नदिएका कारण उनको ज्यान गएको खानले दाबी गरे।
खानले दुई दिनसम्म प्रहरीले यादवसँग भेट्न नदिएको बताए।
‘प्रेसरको बिरामी छु। औषधि ल्याइदेउ भन्दा प्रहरीले ल्याइदिएन। टाउको दुखिरहेको छ भन्दा सानोतिनो होला। टेन्सनले होला भन्दै टार्यो।’
खानले बिहान पाँच बजे हिरासतमा ढले पनि प्रहरीले ढिलागरी मात्र अस्पताल लगेको दाबी गरे। प्रहरी प्रमुख मैनालीले भने ढिला गरी अस्पताल लगेको अस्वीकार गरे।
मैनालीले जिल्ला अस्पतालले उपचार गर्न नसक्ने जनाए लगत्तै भेरी अञ्चल अस्पताल पुर्याइएको बताए।
‘त्यहाँबाट डाक्टरले आइसियु भएको अस्पताल लैजानुपर्छ भनेपछि हामीले नेपालगञ्ज नर्सिङ होम पुर्यायौं’, उनले सेतोपाटीसँग भने।
राउतका प्रवक्ता खानले भने भेरी अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि नर्सिङ होम पुर्याउनै दुई घण्टा ढिला गरिएको बताए।
‘प्रहरीले परिवारका मान्छेले जिम्मा लिनुपर्छ भनेपछि गलफती भयो। डेढ दुई घण्टा त्यहीँ बित्यो।’
बर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नर्सिङ होमले उपचार गर्न नसक्ने जनाएपछि मेडिकल अफिसर, दुई प्रहरी राखेर काठमाडौं उपचारका लागि पठाइएको बताए। यादवको उपचारका लागि काठमाडौं ल्याउने क्रममा १५ गते बाटोमा निधन भएको हो।
भदौ ७ गते पक्राउ परेका यादवसहित अन्यलाई रिहाइको माग गर्दै भदौ १२ गते इर्फान अहमद शेषसहितका परिवारका सदस्यहरुले उच्च अदालत नेपालगञ्ज इजलासमा रिट दायर गरेका थिए। रिटमा न्यायाधीश प्रेमराज कार्कीले भदौ १३ गते बर्दिया प्रहरीलाई कारण देखाउ आदेश दिएका थिए।
अदालतमा उपस्थित हुनुअघि नै राम मनोहर यादवको भने मृत्यु भएको छ। प्रहरीले पक्राउ परेकामध्ये तीन जनालाई आज अदालतमा उपस्थित गराउँदै छ।
सिके राउतको गठबन्धनले निकालेको विज्ञप्तिमा २०७२ चैत ६ गते पक्राउ गरेर राज्यविप्लपको मुद्दा लगाएको र यादवले २०७४ फागुन ३ गते विशेष अदालतबाट सफाइ पाएको उल्लेख छ।
त्यस्तै, २०७३ मंसिर १० गते रंगभेदी दिवसको कार्यक्रम गर्दा तथा स्थानीय तहको निर्वाचनका बेला २०७४ सालमा असार २ गते पक्राउ भएको र असार १९ गते रिहा गरेको जनाएको छ।
यादवले पटक/पटक पक्राउमा परेको र आफूलाई ज्यान मार्ने धम्की दिइएको भन्दै मानव अधिकार आयोग समेत गुहारेको विज्ञप्तिमा उल्लेख छ। सिके राउतका कतिपय कार्यकर्ताहरूले उपप्रधानमन्त्री यादवको निर्देशनमा यादव पक्राउ परेको सामाजिक सञ्जालमा लेखेका छन्।
उपप्रधानमन्त्री यादवका सहयोगी महेश चौरासियाले भने राममनोहर यादवको निधन उच्च रक्तचापका कारण मतिष्कघातबाट भएको उल्लेख गरेका छन्। यादवलाई दोष देखाएर 'लाशको राजनीति’ गरेको उनले आरोप लगाए।
‘सिके राउतका ती कार्यकर्ताहरूलाई मन्त्रीज्यू लगायतका हामी कसैले नियन्त्रणमा लिनू भनेका थिएनौं, चौरासियाले फेसबुकमार्फत् स्पष्टिकरण दिँदै भनेका छन्, ‘उहाँको निधन यातना दिएर प्रहरी हिरासतमा भएको पनि होइन।’
बर्दिया प्रहरी प्रमुख मैनालीले पनि राज्यविरुद्धको कसुरमा यादवलाई हिरासतमा राखिएको बताए। उनले पनि यातनाको कुरा अस्वीकार गरेका छन्।
‘यातना दियो भन्ने हावादारी हो। हामीले बेहोस भएपछि मुचुल्का उठाएका छौं। उनीहरूका साथीहरूलाई पनि थाहा छ। मानिसहरूलाई पहिलाको जस्तै प्रहरीले यातना दिन्छ भन्ने मानसिकता छ’, मैनालीले भने, ‘यातना भन्ने कुरा हावादारी हो। मेडिकल रिपोर्टले थप प्रष्ट्याउँला।’
मृत्यु भएका यादवका तीन नाबालक सन्तान छन्।