जर्मनीको विश्वप्रसिद्ध साँस्कृतिक क्षेत्र ‘ड्रेज्डिन एल्ब उपत्यका’ कुनै बेला विश्व सम्पदा सूचीकृत थियो।
साँस्कृतिक क्षेत्रभित्र नदी वारपार गर्न चारलेनको अत्याधुनिक पुल बनेपछि विश्व सम्पदाबाट हट्यो। युनेस्कोले ‘मौलिकता परिवर्तन भएको’ भन्दै सम्पदा सूचीबाट हटायो।
जर्जियाको क्याथेड्रलमा त्यस्तै भयो।
पुनर्निर्माण क्रममा मौलिकता फेरियो। विश्व सम्पदामा परेको २३ वर्षपछि क्याथेड्रलको नाम सूचीबाट हट्यो।
यी दुवै साँस्कृतिक सम्पदा सूचीबाट हटाउनुअघि युनेस्कोले ‘वास्तविक पहिचान हराउँदै गएको’ चेतावनी दिएको थियो।
त्यस्तै चेतावनी हामीले पनि पाइसकेका छौं।
नेपालमा प्राकृतिक र साँस्कृतिक गरी दस क्षेत्र विश्व सम्पदामा सूचीकृत छन्। यीमध्ये पशुपतिनाथ एक हो।
दुई वर्षअघि युनेस्कोले पशुपति क्षेत्रलाई सम्पदाको खतरा सूचीमा राख्यो। त्यति बेला पशुपति क्षेत्रको ध्रुवस्थली र मृगस्थलीबीच बाटो बनाउन थालिएको थियो। युनेस्कोले बाटो बनाउन हुन्न भन्ने अडान लियो। बाटो खोले सम्पदा सूचीबाट हटाउने चेतावनी दियो।
पशुपति क्षेत्र विकास कोष पनि बाटो निर्माणको विरोधमा थियो। तत्कालीन पुष्पकमल दाहाल सरकार पछि हटेन। रातारात डोजर चलाएर जंगल फाँडियो। छ सयजति बहुमूल्य रूख काटिए। बाटो खुल्यो।
सर्वोच्च अदालतले बाटो बन्द गर्ने आदेश दिएपछि बल्ल निर्माण रोकियो। युनेस्कोको चेतावनी टर्यो।
त्यति बेला मौलिकता मास्न हुन्न भन्ने पशुपति विकास कोष नै यतिबेला पशुपति क्षेत्र मास्न उद्यत छ।
आध्यात्मिक पार्क बनाउने नाममा पशुपतिको प्राकृतिक सुन्दरता मास्दै कंक्रिट थुपारिँदैछ। कोषले श्लेष्मान्तक वनबाट ध्रुवस्थली निस्कन क्रंक्रिटको बाटो बनाउन थालेको हो। गोपालेश्वरबाट गुह्येश्वरी निस्कन पनि यस्तै बाटो बनाइँदैछ।
सरकारले पाँच वर्षभित्र पशुपति क्षेत्रमा बृहत् पार्क बनाउने योजना ल्याएको छ। यो निर्माण त्यसैअन्तर्गत हो। यसमा पशुपतिनाथ क्षेत्र, गौशाला, गुह्येश्वरी परिसर, तिलगंगा, गौचरन (विमानस्थल छेउ) सम्म समेटर आध्यात्मिक पार्क बनाउने भनिएको छ।
पार्क बनाउनु राम्रो हो। खुला स्थल मासिँदै गएको काठमाडौंको उकुसमुकुसमा सास फेर्ने ठाउँ दिन्छ। यो भनेको सहरी बसोबासीलाई कंक्रिट जंगलबाट प्रकृतितर्फ फर्काउनु हो। न कि प्रकृतिभित्रै कंक्रिट थुपार्नु।
त्यसो हो भने त घरको आँगनमै दुबो उमारे भैगो!
पशुपति विकास कोषको पार्क अवधारणा यहीँनिर गलत भएको सम्पदा संरक्षणकर्मी बताउँछन्।
‘यो क्षेत्र आफैंमा पार्क हो। यस्तो प्राकृतिक स्थलमा कोषले अतिरिक्त मिहिनेत गरिराख्नै पर्दैन। मासिन नदिए पुग्छ। अतिक्रमित क्षेत्र फिर्ता लिए पुग्छ,’ संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ भन्छन्, ‘यहाँ भने पार्क बनाउने नाममा जंगलभित्र सिमेन्टको बाटो बनाइँदैछ।’
‘कोषले पार्कको अवधारणा नै नबुझेको हो कि के हो, थाहा छैन। भएको जंगल मासेर कसैले कंक्रिटको बाटो बनाउँछ? सम्पदाप्रति अलिकति पनि संवेदनशील हुनुपर्दैन?’ उनले प्रश्न गरे।
यही प्रश्न हामीले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदीप ढकाललाई सोध्यौं।
जंगलभित्र सिमेन्टको बाटो बनाउन लागेको उनले स्वीकार गरे।
उनका अनुसार यहाँ प्रदक्षिणा मार्ग बनाउन लागेको हो। हिँड्न सहज होस् भनेर सिमेन्टमा ढुंगा र इँटा छाप्न लागेको उनको भनाइ छ।
‘भुइँ चिप्लो र भिरालो छ। माटोमा ढुंगा र इँटा धेरै समय अडिँदैन। त्यसैले क्रंक्रिटको बेस हालेका हौ,’ उनले भने, ‘यसको अर्को विकल्प भेटेनौं।’
संरक्षणकर्मी भने विकल्पमा पर्याप्त छलफल नभएको आरोप लगाउँछन्।
परम्परागत विधिको ज्ञान भएका स्थानीय र इञ्जिनियरहरूसँग सरसल्लाह नै नगरी कोषले आफ्नो धारणा थोपर्न खोजेको श्रेष्ठले बताए। यति सामान्य कुरामा पनि विकल्प छैन भनेर कोषले झुक्याउन खोजेको उनको भनाइ छ।
‘प्राचीन जंगलमा विकासको आधुनिक सूत्र प्रवेश गराइँदैछ,’ उनले भने, ‘यस्तो ठाउँमा बाटो बनाउनुपरे परम्परागत विधि छ। सिमेन्ट आविष्कारै नभएको बेला पनि हामीले बाटो बनाएकै हौं। विकल्प छैन भनेर टार्नु मुर्ख्याइँ हो।’
उनका अनुसार प्राचीन स्मारक संरक्षित क्षेत्र घोषणा भएको ठाउँमा जथाभाबी निर्माण गर्न पाइँदैन। सिमेन्टको प्रयोग त वर्जितै छ। कृत्रिम संरचना पनि बनाउन मिल्दैन। वास्तविक संरचनाभन्दा केही भिन्न हुन गए पनि सम्पदा सूचीबाट हट्ने खतरा हुन्छ।
विगतमा यस्तैगरी बाटो बनाउँदा युनेस्कोले सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको स्मरण गर्दै उनले भने, ‘सिमेन्टको बाटो बनाउने काम बन्द नगरे युनेस्कोले सूचीबाट हटाइदिने खतरा छ।’
कोषका सदस्य–सचिव ढकाल भने पुरातत्व विभागसँग सल्लाह गरेरै काम गरिरहेको बताउँछन्।
उनका अनुसार पार्क बनाउने योजनाअनुरुप यहाँ विभिन्न धार्मिक महत्वका रुख रोपिनेछन्। रुद्राक्ष र बेलका बगैंचा बनाइनेछ। ध्यान गर्न रुखका फेदमा स—साना चौतारा बनाइनेछन्। सूर्यघाटस्थित भोजन कक्ष पुनर्निर्माण गरिनेछ।
उनले भनेजस्तै चौतारा बनाउन पनि सिमेन्टकै खाँचो पर्छ। यसको सट्टा ढुंगामाटोको ढिस्को बनाउन सकिन्छ। नभए व्यवस्थित हरियाली चउरमै ध्यान गर्न सकिन्छ। चौतारीको खाँचो पर्दैन। भोजन कक्ष पुनर्निर्माणमा पनि सिमेन्ट प्रयोग गरिने सम्भावना छ।
‘हामी हरेक संरचनाका लागि सरसल्लाह गरिरहेका छौं। भोजनगृहमा सुर्खीचुना प्रयोग गर्न सकिन्छ,’ ढकालले भने, ‘यो बाटोमा भने विकल्प नभएर हो, सिमेन्ट प्रयोग गरेको।’
हामीले युनेस्कोको चेतावनीबारे पनि सोध्यौं।
विगतमा सिमेन्ट प्रयोग गर्दा सम्पदा क्षेत्र खतरामा परेको उनलाई थाहा छ। त्यही भएर यसपालि पुरातत्वसँग सहकार्य गरिरहेको उनले दाबी गरे।
पुरातत्व विभागले भने कोषले थालेको निर्माणमा आफ्नो अनुमति नरहेको बताएको छ।
‘कोषले श्लेषमान्तक वनमा सिमेन्टको बाटो बनाउन हामीसँग अनुमति लिएको छैन,’ पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले भने, ‘उनीहरूले हामीलाई यस्तो काम गर्दैछौं भनेर जानकारी पनि दिएका छैनन्। हामीले अस्ति बल्ल थाहा पाएका हौं।’
थाहा पाएपछि पुरातत्व टोली अनुगमनमा गएको उनले बताए। ‘यसबारे प्रतिवदेन तयार हुँदैछ, त्यसपछि बल्ल के गर्ने निर्णय हुनेछ,’ उनले भने।
केही समययता सम्पदा संरक्षणलाई लिएर पुरातत्व आफैं धेरै ठाउँमा चुकेका उदाहरण छन्।
रानीपोखरी, बागदरबार, दरबार हाइस्कुल लगायत जिर्णोद्धार क्रममा पुरातत्व विभाग आफैं ‘विनाशकर्ता’ देखिएको संरक्षणकर्मीहरूको आरोप छ।
काठमाडौं महानगरले रानीपोखरीको परम्परागत कालो माटो झिकेर टायल बिछयाउन खोज्दा पनि पुरातत्व मौन रह्यो। स्थानीय दबाबपछि बल्ल ऊ बोलेको थियो। दरबार हाईस्कुल, बागदरबारजस्ता सम्पदा भत्काएर नयाँ बनाउन अनुमति दिने निर्णय पनि विवादित छ।
बागदरबारका सन्दर्भमा पुरातत्वले सुरुमा ‘रेट्रोफिट’ गर्न सकिन्छ भनेको थियो। पछि एकाएक भत्काउन सहमत भयो।
यसैबीच पशुपति क्षेत्रमा सिमेन्टको बाटो बन्न थालिसक्दा पनि पुरातत्व मौन छ।
‘परम्परागत पोखरी मासेर टायल हाल्न खोज्दा त चुप बस्ने पुरातत्वले श्लेष्मान्तक वनमा हालिँदै गरेको सिमेन्टलाई कति ‘खतरा’ देख्न सक्छ,’ संरक्षण अभियन्ता श्रेष्ठले भने।
कोषको यो निर्माण विधिले पशुपतिको हरियाली पर्यावरण मासिनसक्छ। यहाँका चराचुरुंगी र किराकिरीको प्राकृतिक वासस्थानमा खलल् पुग्छ।
‘बाटो नै बनाउने भए, झारपात सफा गरेर गोरेटो बनाए भैगयो नि। इँटा–ढुंगा अडिएन भन्दै सिमेन्ट हाल्नुपर्ने बाध्यता छैन,’ अभियन्ता श्रेष्ठले भने, ‘त्यो प्राचीन जंगलभित्र सिमेन्टको बाटोमा सर्रर हिँडेर आनन्द लिन आउने को होला? त्यहाँ आउनेहरू पनि प्राकृतिक रूपमै हिँड्न रुचाउँछन् नि।’
कोषले पशुपति क्षेत्रलाई ध्यान, साधना गर्न मिल्ने हरियाली पार्क बनाउने भनेको छ। सदस्य–सचिव ढकालका अनुसार यो पार्क करिब १ हजार २ सय रोपनी क्षेत्रफलको हुनेछ। त्रिभुवन विमानस्थल गल्फ कोर्सको केही भागदेखि शिवपुरी बाबा आश्रम र नेपाली सेनाको कालीदल गण हुँदै गुह्येश्वरीसम्म फैलिनेछ।
त्रिभुवन विमानस्थलको मूलगेट छिर्नेबित्तिकै उत्तरपट्टि तारबारभित्र प्रशस्त हरियाली र पातला रूखहरू भएको मैदान देखिन्छ। झन्डै तीन सय रोपनीको त्यो मैदान छिर्न पाइन्न। फलामे जालीले घेरिएको छ। यो पशुपतिनाथ मन्दिरको सम्पत्ति हो। यसको उपभोग रोयल नेपाल गल्फ कोर्सले गर्दै आएको छ। उच्च वर्गका ५० जना गल्फ सोखिनहरूले यसको लाभ उठाउँदै आएका छन्।
गल्फ कोर्सकै उत्तरपूर्वपट्टि पाँच मिनेटमाथि उक्लेपछि ध्रुवस्थली पुगिन्छ। यो शिवपुरी बाबाले जीवनको अन्तिमकालमा तपस्या गरेको ठाउँ हो। काठमाडौंको बीचमा यति बाक्लो र सुन्दर जंगल छ भन्ने त्यहाँ नपुगेकाले कल्पना पनि गर्न सक्दैनन्।
कोषको योजनाअनुरुप यसलाई पनि आध्यात्मिक पार्कभित्र समेटिनेछ।
यी क्षेत्रलाई पार्क बनाउन कंक्रिट थुपार्नुपर्ने खाँचो छैन। यहाँ अहिल्यै सुलुक्क परेका अग्ला रूख छन्। बाक्लो जंगलमा चराचुरुंगी पनि बाक्लै छन्। शिवपुरी बाबाले जीवनको अन्तिम समय बिताएको कुटी अझै सुरक्षित छ। त्यही कुटीभित्र उनको समाधिस्थल छ।
यो क्षेत्र त्यसै पनि कोषले भनेजस्तै ध्यान गर्नेहरूको निम्ति आध्यात्मिक केन्द्र नै हो।
विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा बर्सेनी हजारौं दर्शनार्थी आउँछन्। भारत लगायत देशका हिन्दु धर्मावलम्बीका लागि यो पवित्र तीर्थस्थल हो।
‘सरकारले यसरी नै सिमेन्टले भर्दै जाने हो भने योग र ध्यान केन्द्र त होइन, यसको मौलिकता गुमेर विश्व सम्पदा सूचीबाटै हट्न सक्छ,’ अभियन्ता श्रेष्ठले भने।
जर्मनीको साँस्कृतिक क्षेत्र ‘ड्रेज्डिन एल्ब उपत्यका’ जस्तै, जुन कुनै बेला विश्व सम्पदा सूचीमा थियो।