गृह मन्त्रालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बढुवा प्रक्रियाको तयारी थालेको छ। पाँच महिनादेखि रोकिएको एआइजी बढुवाको गाँठो फुकाउन प्रधानमन्त्री केपी ओली आफैंले चासो दिएपछि बढुवा समिति बैठक बोलाउने तयारी थालिएको हो।
गृह स्रोतका अनुसार बिहीबार बढुवा समिति बैठक डाक्नेबारे छलफल चलिरहेको छ। यद्यपि, एआइजी बढुवामा वरियता मिलाउने विषयमा राजनीतिक सहमति जुटिनसकेको स्रोतले सेतोपाटीलाई बतायो। सोही कारण बिहीबारै बैठक बस्न सक्ने/नसक्नेबारे गृहले यकिन गर्न सकेको छैन।
‘बढुवा समितिको बैठक सम्भवतः बिहीबारै बस्ने योजना हो,’ गृहसचिव प्रेमकुमार राईले सेतोपाटीसँग भने।
रोलक्रम अनुसार एआइजी बढुवामा पहिलो नम्बरमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुष्कर कार्की छन्। दोस्रोमा मनोज न्यौपाने, तेस्रोमा ठूले राई, चौथोमा धीरू बस्नेत र पाँचौं नम्बरमा सुरेशविक्रम शाह छन्। यही ब्याचबाट सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक बनेका थिए। कार्की अपराध अनुसन्धान र अप्रेसनमा लोकप्रिय अधिकृत हुन्। एसएसपी हुँदा महानगरीय अपराध महाशाखामा कार्यरत कार्की दिनेश अधिकारी ‘चरी’ इन्काउन्टर र डिअाइजी भएपछि केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्व सम्हाल्दा चर्चामा थिए।
रोलक्रममा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहसचिव प्रेम राई तथा प्रहरी महानिरीक्षक खनालबीच सहमति जुटेको छैन। डिआइजीद्वय कार्की र न्यौपानेमध्ये कसलाई पहिलो रोलक्रममा राख्ने अन्योलबीच बैठक बोलाउन असहज भइरहेको स्रोतले बतायो।
स्रोतका अनुसार प्रधानमन्त्री रोलक्रम तलमाथि नपार्ने अडानमा छन्। महानिरीक्षक खनालले भने न्यौपानेलाई अगाडि ल्याउन चाहेको बताइन्छ।
गृहले बढुवा प्रक्रिया लम्ब्याएपछि प्रधानमन्त्री आफैंले तदारुकता देखाएको स्रोतको दाबी छ।
स्रोतका अनुसार बिहीबार बिहान प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा लामो छलफल चलेको थियो। दाहाल बिहीबार भारत भ्रमणमा निस्किँदैछन्। उनको भ्रमणअगाबै एआइजी बढुवा निकाल्ने भनिए पनि सहमति जुटिनसकेको स्रोतले बतायो।
प्रहरी महानिरीक्षक खनालले भने बिहीबारै बैठक बस्नेबारे टुंगो लागिनसकेको बताए। उनले भने, ‘यथाशीघ्र बढुवा निकाल्ने भन्ने विषयमा द्विविधा छैन, तर बैठक बस्ने टुंगो छैन।’ खनालले बरियतामा कुनै विवाद नरहेको स्पष्ट पारे।
प्रहरी महानिरीक्षक खनाल बिहीबार दिउँसो कञ्चनपुर जाँदैछन्। सहमति भए त्यसअगावै बैठक बस्नसक्ने सम्भावना छ।
बितेको आर्थिक वर्षमा डिएसपी, एसपी, एसएसपी र डिआइजीसम्म बढुवा भयो। एआइजीको पालो आएपछि प्रक्रिया लम्बिन थालेको थियो।
गृहले एआइजी दरबन्दी संख्या गत आर्थिक वर्षमै टुंगो पनि लगायो। तर, नयाँ आर्थिक वर्ष लागेपछि कार्यसम्पादन मूल्यांकन हेर्नुपर्ने भएकाले प्रक्रिया फेरि लम्बियो। अहिले मूल्यांकन सकिइसकेको भए पनि बरियता मिलाउने विवाद आएको बताइएको छ।
बढुवा समितिमा गृहसचिव, आइजीपी र प्रधानमन्त्री कार्यालयका सचिव हुन्छन्। गृहले एआइजी संख्या तीन कायम गरेको छ। एअाइजी प्रतिस्पर्धामा पाँच जना डिआइजी छन्।
खनाल महानिरीक्षक बनेपछि लामो समयसम्म बढुवा ननिकालिएको भन्दै उनका सहकर्मी डिआइजीहरूले गुनासो गर्दै आएका छन्। उनीहरूले सबै प्रक्रिया पुगे पनि बढुवामा ढिलाइ गर्दा मनोबल गिरेको बताउँदै आएका छन्।