नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितामाथि कसैले हस्तक्षेप गर्न नहुने बताएका छन्।
पत्रकार र सञ्चारमाध्यमहरूलाई पार्टीगत आस्थाभन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिँदै नेता देउवाले प्रेस स्वतन्त्रतामाथि कसैले हस्तक्षेप गरे कांग्रेस त्यसको विपक्षमा उभिने स्पष्ट पारे।
बुद्ध सामुदायिक टेलिभिजनको ११ औं साधारणसभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कुनै पनि सञ्चार माध्यममाथिको हस्तक्षेपलाई कांग्रेसले स्वीकार गर्न नसक्ने बताए।
टेलिभिजनका केही सदस्यहरूले साधारणसभा तथा निर्वाचन स्थगत गर्न दिएको निवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयले बुद्ध सामुदायिक टेलिभिजनको अधिवेशन रोक्न निर्देशन दिएको थियो। त्यसैको विरोध गर्दै नेता देउवाले सिडिओलाई स्वतन्त्र प्रेसको हस्तक्षेपकारी नबन्न आग्रह गरे।
उनले मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचार प्रसार आवश्यक रहेको भन्दै लुम्बिनी क्षेत्रका संचारमाध्यमले बुद्ध दर्शन र बुद्ध शिक्षाको प्रचारलाई प्राथमिकता दिनुपर्ने बताए।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को स्थायी राजधानी बुटवलमै रहने र यहाँबाट अन्यत्र सार्न कसैले पनि प्रयास नगर्न आग्रह गरे।