नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले प्रतिक्रान्तिको खतरा रहेको बताएका छन्। रूपन्देहीको तिलोत्तमामा शनिबार आयोजित ‘कार्लमाक्सको जन्म दुई शताव्दी’ समारोहमा बोल्दै नेकपाका नेताहरूले नयाँ व्यवस्था कार्यान्वयनकै पहिलो चरणमा प्रतिक्रान्तिको सबैभन्दा बढी खतरा रहनेतर्फ सचेत रहनुपर्ने बताएका हुन्।
नेकपाका नेता घनश्याम भुसालले देशलाई अगाडि बढाउने जिम्मा सत्ताको नेतृत्वमा रहनेको बताए। प्रतिक्रान्ति बाजा बजाएर नआउने भन्दै भुसालले लोकमानतन्त्रको पुनर्वहाली गर्न खोजे उपलव्धी गुम्न सक्ने तर्फ सचेत रहनुपर्ने बताए।
भुसालले राजपाठ छाडेर मुलुक बनाउने तर्फ जनप्रतिनिधि लाग्नुपर्ने अन्यथा सिस्टममाथि प्रश्न खडा हुने उनको भनाई थियो।
कार्लमाक्र्स मुल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै भुसालले युवाहरुलई कार्लमाक्र्सको शिक्षा दिने गरि तयारी भईरहेको बताए।
नेकपाका अर्का नेता राम कार्कीले देशभरि कम्यूनिष्ट पार्टीको बहुमत भएको बेला जनताले सुखद अनुभूति गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए।
उनले कम्यूनिष्ट पार्टीको सरकार भएपनि पुंजिवादले जनतालाई अचेटिरहेको बताए। ‘पूँजिवादले सत्यानास गर्छ, समाजमा प्रेम र सद्भाव हराउने, अबको गन्तव्य समाजवाद हो,’ उनले भने।
नेकपाका नेता बिजय पौडेलले कार्लमाक्र्स र नेपालको बर्तमान अवस्थाबारे भनाई राखेका थिए। उनले कम्युनिष्ट पार्टीका नेताहरुमा धन आर्जन गर्ने होडबाजीले को कम्यूनिष्ट भनेर छुट्याउनै नसकिने अवस्था आएको बताए ।