न्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा अनुमोदित भएका छन्।
सोमबार बिहान उनको संसदीय सुनुवाइ भएको थियो। सुनुवाइ सकिएको केहीबेरमा संसदीय सुनुवाइ समितिले उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।
मिश्रको नाम समितिले सर्वसम्मत अनुमोदन गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। संसदीय सुनुवाइमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मिश्रले २०३८ सालमा न्याय सेवामा प्रवेश गरेयता अदालतमा राजनीतिक प्रभाव महशुस नगरेको बताए।
‘२०३८ सालमा अधिकृत भएँ। ४७ सालदेखि न्यायाधीश बने। अहिलेसम्म १७ हजार मुद्दा छिनें तर कहिल्यै पनि राजनीतिक प्रभाव महशुस गरिनँ,’ मिश्रले भने।
समितिले अब मिश्र अनुमोदन भएको संवैधानिक परिषद्लाई जानकारी दिनेछ। त्यसपछि उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिनेछन्।