कर्णाली प्रदेश सरकार यतिबेला फुर्सदिलो बनेको छ। सात वटामध्ये चार मन्त्रालयका मन्त्री प्रदेशबाहिर छन्।
प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित, अर्थमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्री खड्का खत्री र सामाजिक विकास मन्त्री दल रावल प्रदेशमा छैनन्।
कोही संघीय राजधानी काठमाडौं गएका छन्। कोही प्रदेशबाहिरका जिल्लामा छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, उद्योग मन्त्री नन्दसिंह बुढा र कानुन मन्त्री नरेश भण्डारीमात्र प्रदेशमा छन्।
मुख्यमन्त्री शाही एक साताअघिदेखि काठमाडौंमा छन्। उनी विभिन्न बैठकमा सहभागी हुनुपर्ने भएकाले काठमाडौं गएको बताइएको छ। विज्ञ समूह, लगानी बोर्ड बैठक, राष्ट्रिय सभा सदस्यहरूसँग परामर्शलगायत नियमित व्यस्तताले शाही काठमाडौंमा रहेको मुख्यमन्त्री कार्यालयले जनायो।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि काठमाडौंमा छन्। उनी प्रदेश फर्किनेबारे टुंगो छैन। ज्वाला प्रायः कर्णाली प्रदेशको कार्यबाहक मुख्यमन्त्री हुन्। केही महिनाअघिदेखि मुख्यमन्त्री कार्यबाहक समेत नतोकि प्रदेश बाहिर जाने गरेका छन्। ज्वाला पनि काठमाडौंमा हुने विभिन्न महत्वपूर्ण बैठकहरूमा सहभागी हुने गरेको स्वकीय सचिव सन्तोष बिसीले बताए।
भौतिक पूर्वाधार विकास मन्त्री खत्री यही आइतबार काठमाडौं गएका छन्। उनी बुधबार फर्कने उनका स्वकीय सचिव पूर्णप्रसाद आचार्यले बताए। केन्द्रस्थित सम्बन्धित मन्त्रालयसँगको छलफललगायत कामले खत्री काठमाडौं गएको उनले जानकारी दिए।
सामाजिक विकास मन्त्री दल रावल प्रदेश नं. ५ को नेपालगञ्जमा छन्। केही दिनअघि डोल्पा गएका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी भने सोमबार मात्र सुर्खेत आएका छन्।
संसद बैठक स्थगित भएको तथा संयोगले मन्त्री सहभागी हुनुपर्ने कार्यक्रम तय भएकाले संघीय कर्णाली सरकार फुर्सदिलो देखिएको आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी बताउँछन्।
‘संसद बैठक स्थगित भएको केही समयमै हामीहरू बाहिर जाने संयोग पर्यो,’ उनले भने, ‘मन्त्रीज्यूहरू नभए पनि उहाँहरूको अनुपस्थितिमा हुन सक्ने काम मन्त्रालयमा भइरहेका छन्।’
संसद बैठक सञ्चालन गर्नेबारे भने सभामुखसँग छलफल गर्ने उनले बताए। ‘मन्त्रालयहरूले विधेयक बनाइरहेका छन्, अब संसदले केही बिजनेश पाउँछ,’ उनले भने।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी वीरेन्द्रनगरमा आयोजना हुने तीज विशेष कार्यक्रममा व्यस्त छिन्। कर्णाली प्रदेशमा केसी एक मात्र महिला मन्त्री हुन्। हरितालिका तीज महिलाहरूको विशेष पर्व भएकाले पनि उनलाई भ्याइनभ्याइ छ। उनी हरेकजसो तीज कार्यक्रममा सहभागी हुन्छिन्।
तीजका कार्यक्रममा सहभागी हुनुपर्ने बाध्यता नै भएको मन्त्री केसी बताउँछिन्। ‘हरितालिका तीज महिलाहरूको विशेष पर्व हो,’ उनले भनिन्, ‘कतिपय कार्यक्रममा नजान खोजें, तर महिला दिदीबहिनीहरूको भावना नकार्न सकिनँ।’ तीजका कार्यक्रममा सहभागी भए पनि दैनिक कामकाजमा बाधा नआएको उनले बताइन्।
संसदले ‘बिजनेश’ पाएन
गएको साउन २५ गतेबाट स्थगित भएको संसद बैठक अझैसम्म सञ्चालन हुन सकेको छैन। दोस्रो अधिवेशन अन्तर्गतको संसद बैठक ‘बिजनेश’ नभएको भन्दै साउन २५ गते अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको थियो। अनिश्चित रुपमा स्थगित भएको बैठक कहिले सञ्चालन हुने भन्नेबारे टुंगो छैन।
‘बिजेनेश’ आएपछि मात्र बैठक तोक्ने संसद सचिवालयले जनाएको छ। तर, अहिलेसम्म प्रदेशका तीन वटा मन्त्रालयले संसदमा विधेयक दर्ता गराउन सकेका छैनन्। हालसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कर्णाली प्रदेशका तीन वटा मन्त्रालयले संसदलाई एउटै ‘बिजनेश’ दिएका छैनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, वन तथा पर्यटन मन्त्रालयले एउटा पनि विधेयक तयार पारेका छैनन्।
सभामुख राजबहादुर शाहीले लगभग अधिवेशन अन्त्य भएको बताएका छन्। नयाँ संरचना भएकाले केही विषय आउँछ कि भन्ने मनसायले अधिवेशन अन्त्यको घोषणा भने नगरेको उनले बताए।
‘वर्षे अधिवेशन नै अन्त्य भइसकेको हो, नयाँ संरचना भएकाले केही विषय आउलान् भनेर बाँकी राखियो,’ शाहीले भने, ‘अब ‘बिजेनश’ आएमा यो अधिवेशन अन्तर्गतका दुई/चार बैठक बस्लान्, दसैं–तिहारपछि नयाँ अधिवेशन सुरू हुन्छ।’