शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका उपसचिव खेमराज पौडेलले दुई महिनादेखि तलब पाएका छैनन्।
सरकारी जागिर खाएपछि पहिलो पटक उनको तलब रोकिएको हो।
‘अरु मन्त्रालय अन्तर्गत कार्यालयका कर्मचारीले साउन र भदौको तलब खाइसक्नुभयो, हामीले साउनको पनि अहलेसम्म पाएको छैन,’ उपसचिव पौडेलले सेतोपाटीसँग भने, ‘पहिलो पटक मन्त्रालयले यसरी तलब रोकिदिएको हो। यसअघि मासिक तलब पाइन्थ्यो।’
पौडेलजस्तै झन्डै २७ सय कर्मचारीको दुई महिनादेखि तलब रोकिएको छ।
कर्मचारीको तलब दुइटा कारणले रोकिएको हो। एकातिर केन्द्रबाट अख्तियारी आएन अर्कातिर दरबन्दीभन्दा बढी कर्मचारीको समायोजन हुन सकेन।
तलब आइहाल्यो भने पनि कसलाई खुवाउने भन्ने समस्या आइपर्ने पौडेलले बताए।
सरकारले शिक्षा मन्त्रालय अन्तर्गत रहेका जिल्ला शिक्षा कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत शिक्षाको समन्वय एकाइ राखेको छ। यस्ता एकाइले स्थानीय तह (गाउँपालिका/नगरपालिका) र मन्त्रालयबीच समन्वय गर्छ।
‘समन्वय एकाइलाई बोर्डमा प्रशासनअन्तर्गत भनियो तर सिडिओसाबको कार्यविवरणमा परेको छैन। कति कर्मचारी रहने भन्ने सांगठानात्मक विवरण प्रशासन कार्यालयमा छैन,’ उनले भने, ‘हामी हाँसमा बकुल्लाजस्तो पो भइयो।’
गोरखामा एक जना उपचिवको दरबन्दी रहेकोमा अहिले ३ जना छन्। दुई जना अधिकृत हुनुपर्नेमा ४ जना छन्। यस्तो समस्या देशैभर छ। सरकारले ४१ जिल्लामा उपसचिव मातहत र ३६ जिल्लामा अधिकृत प्रमुख रहने गरी समन्वय एकाइ बनाएको थियो। उपसचिव प्रमुख रहेका जिल्लामा ८ जना र अधिकृत प्रमुख रहेका जिल्लामा ६ जना कर्मचारीको दरबन्दी छ।
तर अहिले दरबन्दीभन्दा धेरै कर्मचारी छन्, उनीहरुको सरुवा भएको छैन।
‘मन्त्रालयले संगठन संरचनामात्रै पठाइदियो, व्यक्ति नै तोकिदिएन,’ उपसचिव पौडेलले भने, ‘मन्त्रालयले छिटो कर्मचारी समायोजन टुंग्याउनुपर्छ। कर्मचारी धेरै भएका ठाउँबाट नभएका ठाउँमा सरुवा गरियोस्।’
रोकिएको तलव छिटो निकासा गरिदिनुपर्ने कर्मचारीहरुको माग छ।
‘अब त दशैं आउन लाग्यो तलब आउँछ होला,’ उनले भने।
शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल मन्त्रालय तथा विभागका कर्मचारीले पनि तलब नपाएको बताउँछन्।
‘सामान्यत: साउनको तलब भदौ १५/२० गते खुवाउने पहिलेदेखिकै चलन हो तर अहिले केही ढिलाइ भएको छ’, प्रवक्तासमेत रहेका अर्यालले सेतोपाटीसँग भने, ‘तलब रोकिएको अथवा नपाएको भन्ने होइन ढिलाइ भएको भन्ने बुझ्नुपर्यो।’
कर्मचारी व्यवस्थापन टुंगिनेबित्तिकै तलब खुवाउने उनले बताए।
‘कर्मचारी व्यवस्थापन टुंगिनेबित्तिकै तलब उतिखेरै भइहाल्छ,’ उनले भने।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कर्मचारीलाई छिट्टै तलब खुवाइने जानकारी दिए।
‘कर्मचारी समायोजन गर्दा केही ढिलाइ भयो,’ मन्त्री पोखरेलले सेतोपाटीसँग भने, ‘अब बजेटिङ हुन्छ।’ शिक्षा मन्त्रालय अन्तर्गत सांगठानिक संरचना तथा पुनर्संरचना एकैपटक नसकिएकोले तलब खुवाउन केही ढिला भएको उनले बताए।
‘कर्मचारी समायोजन छिटो टुंग्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित अन्तरमन्त्रालय छलफल गरिराखेका छौं,’ मन्त्री पोखरेलले भने।