संविधान दिवस मनाउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अध्यक्षतामा विहीबार बसेको वैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा ‘संविधान दिवस प्रदेश मूल समारोह समिति’ गठन गरेको हो । समितिमा प्रदेशका मन्त्री, सांसद्, अदालतका प्रमुख, कर्मचारीहरुलगायतलाई समावेश गरिएको छ ।
दिवसका दिन असोज १ गते विहान ८ बजे वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने, सोही दिन सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी सुर्खेतको समन्वयमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।
उनका अनुसार असोज २ गते गते प्रदेश राजधानीभित्रका मन्त्रालय, सबै सरकारी कार्यालय, नगरपालिका, उद्योगी व्यापारी र नागरिक समेत सबै सरोकारवालाहरुले आ–आफ्नो कार्यालय परिसर, घर कम्पाउन्ड, घर अगाडिको सडक सरसफाई गर्ने तथा सोही दिन वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा नेपालको सविधान र संघीयता विषयमा अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिनेछ ।
संविधान जारी भएको असोज २ गते साँझ दिपावली गर्ने कार्यक्रम तय भएको मन्त्री भण्डारीले बताए । यसका साथै नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवाद प्रशारण गर्न स्थानीय टेलिभिजन, रेडियो तथा विशेष लेख रचना प्रकाशन गर्न स्थानीय पत्र पत्रिकाहरुलाई अनुरोध गर्ने निर्णय भएको मुल समारोह समितिले जनाएको छ ।