कर्णाली प्रदेश सरकारले स्वास्थ्यसम्बन्धी परामर्श समिति गठन गर्ने भएकोा छ।
शनिबार राति बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले ‘कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति’ गठन गर्ने निर्णय गरेको हो।
डाक्टर भगवान कोइरालाको संयोजकत्वमा डाक्टर अर्जुन कार्की, डाक्टर सेनेन्द्रराज उप्रेति, डाक्टर सुरेश तिवारी, डाक्टर डम्बर खड्का, डा. मगंल रावल र डा. तीर्थ थापा सदस्यसहित सात सदस्यीय परामर्श समिति गठन गर्ने निर्णय बैठकले गरेको हो।
यस्तै, मन्त्रिपरिषद् बैठकले सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने, जुम्लाको हिमा गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय पनि गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक सेवा प्रसारण विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सार्वजनिक निर्माण र परामर्शसम्बन्धी काम संक्षिप्त कार्यविधिबाट गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि बैठकले गरेको छ।
सामाजिक विकास मन्त्रालयबाट प्रस्तावित संगठन संरचना तथा दरबन्दी तेरिज नेपाल सरकारबाट स्वीकृत भइ नआउँदासम्म संलग्न संगठन संरचना र दरबन्दी अनुसार कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने, प्रदेशका स्वीकृत दरबन्दीका कर्मचारी छिट्टै खटाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि शनिबारको बैठकले गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।
यस्तै, स्थानीय सरकार सञ्चालन ऐनको दफा १०५ अनुसार गठित कर्णाली प्रदेश समन्वय परिषद् बैठक असोज १९ र २०गते आयोजना गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।