दुर्गा पन्तलाई अहिले पनि छोरीहरूसँगको त्यो अन्तिम खानाको झझल्को आइरहन्छ।
उनलाई त्यस दिन बिहानै बनबासा जानु थियो। हतार-हतार गुन्द्रुकको झोल र भात पकाएकी थिइन्। तीनवटी छोरीलाई वरिपरि राखेर खान दिएकी थिइन्।
छोरीहरूको स्कुलमा बर्खे विदा थियो। उनीहरूलाई कापी-किताब किन्दिन दुई-चार पैसा कमाउने बेला यही थियो। निर्मलाले अघिपछि चलाउने पानीपुरी/चटपटे पसलको आम्दानीले गुजारा चल्ने अवस्था थिएन।
गुन्द्रुकको झोलसँग भात खाइवरी ठूली छोरी ट्युसन पढ्न हिँडिन्। निर्मला र कान्छी छोरीलाई चटपटे पसल कुर्न लगाएर दुर्गा गाउँले साथीसँग बनबासा लागिन्।
दिउँसो एक बजे फर्कंदा निर्मला थिइनन्। रोशनी बम भन्ने साथीको घर गएकी रहिछन्। साँझसम्म नफर्केपछि दुर्गा छोरी खोज्न निस्किन्।
यो साउन १० गतेको घटना हो।
त्यो दिन निर्मलाको अत्तोपत्तो लागेन। उनी रातभरि छोरी कुरेरै बसिन्। भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा घरबाट आधा घन्टा पैदलदुरीको उखुबारीमा भेटिइन्।
'निर्मला उतिसारो अर्काको घर जाने स्वभावको थिइन। गए पनि मलाई सोधेर मात्र जान्थी। नजा भने जान्नथी,' दुर्गाले छोरीको सम्झना गर्दै भनिन्, 'त्यो दिन भने सोध्दा पनि सोधिन। गएपछि फर्कंदा पनि फर्किन।'
निर्मला र उनकी दुई जना दिदीबहिनीको निम्ति आमा दुर्गा नै एक मात्र सहारा थिइन्।
दुर्गाले कहिले चटपट र पानीपुरी बेचेर त कहिले अर्काको खेतबारीमा काम गरेर छोरीहरू पाल्दै आएकी थिइन्। त्यसदिन बिहानै बनबासा जानुको कारण पनि पारिबाट सरसामान किनेर यता बेचुँला भनेरै हो।
पति बिरामी भएदेखि छोरी पढाउने र पाल्ने जिम्मा उनकै काँधमा आएको थियो। त्यसैले उनी भारतबाट साइकलमा सामान ल्याएर वारि बेच्ने काम गर्थिन्। कामबाट आएको पैसाले नानीहरूलाई कापीकलम र बिहानबेलुकाको सागसब्जी आउँथ्यो।
पढेर ठूलो भएपछि नर्स बन्ने हो भन्थिन् निर्मला! 'नर्स बनाउन सक्छु/सक्दिन तर राम्रो मान्छेसँग बिहे गरिदिन पाए आफ्नो धर्म पूरा हुन्थ्यो भन्ने लाग्थ्यो,' उनले भनिन्, 'अब चाहिँ उनका हत्याराहरूलाई सजाय दिलाउन पाए बल्ल मेरो धर्म पूरा हुन्छ भन्ने लाग्या छ।'
'छोरीहरूको बिहेको कुरा सोच्दा यसै झसङ्ग हुन्थेँ। उनीहरूलाई अर्काको घर पठाएपछि आफू कसरी बसुँला भन्ने सम्झेरै कहालिन्थेँ। निर्मलालाई त बिहे गर्ने बेलासम्म पाल्नै पाइन। पढाउन पनि पाइन। उखुबारीमा भेटिएकी छोरीको लाश सम्झेर बाँच्नुपर्यो,' उनले भनिन्।
छोरीहरूकै निम्ति मरिमेटेर लागेकी दुर्गा आज निर्मलालाई न्याय दिलाउन काठमाडौंसम्म आएकी छन्। र, गृहमन्त्रीदेखि आइजिपीसम्म धाइरहेकी छन्।
'म बोल्न त के जान्दी हुम् र, तर भगवानले कसरी बोलाइरहनुभएको छ,' उनले भनिन्।
उनी र उनका पति अधिकारकर्मीहरूसँग शुक्रबार गृहमन्त्रीलाई भेट्न गएका थिए।
उनले गृहमन्त्रीसँग भनिन्, 'हामी यहाँ आएर शरण पर्दा पनि न्याय पाउन्नौं भने त फर्केर गएर अरू छोरीहरूलाई हामीले के आधारमा पाल्ने? दुई छोरीलाई कान्छीआमाको साथमा छाडेर आएका छौं। ऊ पनि त एउटा महिला हो। कसैले केही गर्देला की भन्ने डर लागिरहन्छ।'
त्यसपछि उनीहरू प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाललाई भेट्न गए। उनले दोषी भए प्रहरीलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाए। प्रहरीले प्रमाण मेटाएको देखेर आफैंलाई लाज लागेको बताए।
निर्मलाका हत्यारा नखोजे प्रहरीको लाज नजोगिने भएकाले पनि आफूले कुनै कसर नछोड्ने उनको आश्वासन थियो।
गृहमन्त्री र आइजिपीको कुरा सुनेपछि उनलाई अब न्याय पाइन्छ कि भन्ने विश्वास गर्न मन लागेको छ। शनिबार काठमाडौंमा आफ्नी छोरीको न्यायका निम्ति भएको ठूलो जुलुसमा उनी पुगेकी थिइन्। कहिलै नदेखेकी बच्चीका निम्ति सडकमा नारा लगाइरहेका मान्छे देखेर उनको मन भरियो। उनले फेरि छोरीलाई सम्झिइन्। न्यायको लडाइँमा आफू एक्लै छैन भनेर फेरि मनलाई सम्झाइन्।
देशको राष्ट्रपति महिला हुन् भन्ने उनले थाहा पाएकी छन्। छोरीको बलात्कारपछि हत्या भएको ५१ दिनसम्म पनि राज्यले दोषी खोज्न नसकेको भन्दै आफूलाई राष्ट्रपतिकहाँ जान मन लागेको बताइन्।
'राष्ट्रपतिज्यू, तपाईं एउटी आमा हो। अहिले सिंगो देशकी आमा हुनुहुन्छ। आमाहरू सधैं छोराछोरीको न्यायका लागि उभिन्छन्। सत्यका लागि उभिन्छन्। अहिले देशै मेरो छोरीको न्यायका लागि उभिएको छ। तपाईं पनि सत्यलाई साथ दिनुहोला भन्ने आशा छ,' उनले भनिन्।
आफूले जतन गरेर पालेकी छोरीलाई बाँच्न नदिनेहरू खुल्लमखुला हिँड्न पाउनु भनेको अरू छोरीहरूको दिन गन्ती सुरू हुनु हो भन्ने सम्झेर झन् उनको मन पोल्छ।
आफूमाथि नराम्रो भएको भए उनले मन बुझाउँथिन् - मेरो कर्मैको फल होला।
आफू बोल्न नपरेको बेला उनका आँखा सुन्यमा टोलाइरहन्छन्। आफ्नो कर्मलाई दोष दिएरै बाँच्ने बानी परेको मनमा यसपालि तुफान उठेको छ। किनभने छोरीको ज्यान आफ्नो कर्मका कारण गएको हैन भन्ने उनलाई थाहा छ।
जब छोरीको हत्या र उनले न्याय नपाएको कुरा गर्नुपर्छ उनका आँखा कठोर हुन्छन्। शायद मुटुमा गाँठो पारेर उनी बोल्छिन्। जब छोरीको पढाइ र सपनाका कुरा गर्छिन् उनका आँखा भरिँदै आउँछन्।
ठूली छोरीको पढाइ राम्रो छ। निर्मलाको पनि कम थिएन। छोरीका साथीहरू भन्थे - पढेर पास हुनुपर्छ। उनका छोरीहरू भने पास भएर मात्र हुन्न भन्ने सोच राख्थे।
'मेरी छोरीका चाहना फस्ट सेकेन्ड हुने थिए, पास त जो पनि भैजान्छ भन्थे। अरू कार्यक्रममा भाग लिँदा पनि राम्रो गर्न पाए हुन्थ्यो भन्थे। तर अचानक यस्तो भयो..' उनले भनिन्।
'अब त न्यायको निम्ति लडिरहन्छु। बाँचुञ्जेल लड्नुपरे पनि लड्छु।'