प्रदेश ५ सरकारले फागुन ३ गतेलाई प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार गठन भएको फागुन ३ गतेलाई प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरूबारे पत्रकारहरूलाई जानकारी गराउँदै सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीले पद तथा गोपनियताको सपथग्रहण गरी मन्त्री परिषद् विस्तार गरेको दिनलाई प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय गरिएको जानकारी दिए।
त्यसैगरी, मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ। मानव विकास सूचकांकमा कमजोर रहेका गाउँपालिकालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेटमा मुख्यमन्त्री ग्राामीण विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो।
कार्यविधिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको नेतृत्वमा प्रदेशमा निर्देशक समिति र जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्ला समिति रहने व्यवस्था गरेको छ।
त्यसैगरी, बैठकले नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ ।
बैठकले प्रदेश ५ प्रदेशसभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशका बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ संस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ बाट प्रदान गरिने विभूषणसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा समेत मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
प्रदेश सरकारले असोज ३ गते विभिन्न कार्यक्रम गरी प्रदेशभरि संविधान दिवस मनाउने निर्णय समेत गरेको छ ।