बाजुरा सदरमुकाम मार्तडीबाट दुई घन्टा टाढाको गौमुले गाउँपालिकाका केही पुरूषहरू दुई महिना दिनअघिसम्म जतिबेला पनि मदिरामा लठ्ठ भएका भेटिन्थे।
यसले एकातिर घरमा महिला हिंसा बढेको थियो भने अर्कातिर घरव्यवहार लथालिंग थियो। त्यतिमात्र होइन गाउँमा कुनै विकास निर्माणका काम गर्दा स्थानीय सहभागी नै हुँदैनथे।
घरदेखि गाउँसम्म नोक्सान गरिरहेको मदिरा संस्कृतिबाट बाहिर आउन गाउँपालिकाले नयाँ जुक्ति निकाल्यो।
गाउँ परिषद्बाट कानुन बनायो- मदिरा पिउन लाइसेन्स लिनुपर्ने।
अहिले गाउँपालिकाका ६ वडामा लाइसेन्स बिनाका मानिसले मदिरा पिउनु गैरकानुनी मानिन्छ। जरिवाना तिर्नुपर्छ।
‘विकास निर्माणको काम सुरू गरौं भने बिहानैदेखि रक्सीले टिल्ल भएर मानिसहरू हिँड्नै नसक्ने हुन्थे', गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायले सेतोपाटीसँग भने, ‘सबै बुझ्दा जनता सुधार्न त मदिरा रोक्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं।’
तर रोक्ने कसरी?
मदिरा रोक्न कानुन थिएन। भनेको भरमा कसैले मान्दैनथे। गाउँपालिकाले गत असारमा मदिरा व्यवस्थापन गर्न बनेको ऐन पारित गर्यो। मदिरा पिउन र किन्न कार्ड बनाउनुपर्ने भयो। घरमा रक्सी बनाउन प्रतिबन्ध लगाइयो।
साउन १ देखि कानुन लागु भयो। दुई महिनामा १ सय ५० जनाले मदिरा सेवन कार्ड बनाएका छन्। मदिरा बेच्ने पसलका साहुजीले मदिरा पिउने कार्ड बनाइदिन्छन्।
कार्ड बनाउने अधिकार दर्तावाला मदिरा पसल सञ्चालकलाई दिइएको छ। नियमअनुसार कार्ड भएकाले एक दिनमा १८० एमएलसम्म मदिरा पिउन पाउँछन्।
मदिरा किनेको र खाएको रेकर्ड मदिरा कार्डमा उल्लेख गरिन्छ। मदिरा पिउने र बेच्नेको कार्डमा हस्ताक्षरसमेत हुन्छ। साहुजीले इमानदारितापूर्वक कार्ड भरेका छन् वा छैनन् गाउँपालिकाले बेलाबेला अनुगमन पनि गर्छ। १०/१२ वटा पसलले कार्ड उपलब्ध गराउँछन्।
‘कार्ड भरेको छ/छैन भन्ने कडा अनुगमन हुन्छ। साहुजीले कति मदिरा झारेका थिए। कति स्टक छ र कति बिक्री गरे भन्ने हामी हेर्छौं,’ उनले भने।
मदिरा पिउन र किन्न कार्ड चाहिने भएपछि केही धेरै सुधार भएको अध्यक्ष रोकायले बताए।
‘आन्तरिक आय बढाउन र करको दायरा फराकिलो बनाउन मदिरा कार्ड नियम ल्याएको होइन', रोकायले भने , ‘यो नियमले कर त बढ्ला तर त्योभन्दा बढी यसले समाज सुधार्छ। जनता सुधार्छ।’
जनता सुध्रिएपछि मात्रै सडक निर्माणजस्ता पूर्वाधारहरू खडा गर्न गाउँपालिकाले ध्यान दिने उनले बताए।
‘हाम्रो नियमलाई विशेष गरी आमा समूह र महिलाहरुले सहयोग गर्नुभएको छ। बानी लागेर छाड्न नसकेकाले कार्ड बनाएर मदिरा पिएका छन्। वार्षिक ५ सय अलि बढी भयो भन्ने प्रतिक्रिया दिएको सुन्छु।’
मदिराको प्रयोग घटाउन सचेतनाका कार्यक्रम पनि गाउँपालिकाले सञ्चालनको तयारी गरिरहेको अध्यक्ष रोकायले जानकारी दिए।