कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा सुर्खेतस्थित मानव अधिकारकर्मीहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने भन्दै अधिकारकर्मीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत् प्रधामन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
निर्मलाको बलात्कारपछि हत्याकाण्डका सम्बन्धमा पीडितलाई न्याय दिनेभन्दा पनि शक्ति पद र पहुँचको आडमा झन यातना दिने काम भएको भन्दै सुर्खेतस्थित मानव अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्।
न्यायको निष्पक्ष छानबिन गर्ने निकायका पदाधिकारीबाट नै न्यायको पहुँचमा पुग्न पीडितलाई अवरोध भएको उनीहरूको आरोप छ।
देशका विभिन्न ठाउँमा महिलामाथि बलात्कारलगायतका हिंसा बढ्दै जानु देशको शान्ति र सुरक्षामा सरकारको चासो नभएको भन्दै ध्यानाकर्षण पत्रमार्फत् यसमा सरकारको ध्यान जानुपर्नेमा अधिकारकर्मीहरूले जोड दिएका छन्।
सरकारले प्रत्येक महिलाको स्वतन्त्रता, सुरक्षा र मर्यादाको सुनिश्चित गर्नुपर्ने, महिलाविरूद्ध हुने हिंसाप्रति संवेदनशील भएर यौन हिंसाका घटनामा शून्य सहिष्णुता अपनाउनुपर्ने, अपराधीलाई उम्किने वातावरण सृजना हुन नहुने, कानूनी शासन र विधिको शासन प्रत्याभूत गराउनुपर्ने लगायतका मागहरू ध्यानाकर्षण पत्रमार्फत् गरिएको छ।