नेपाल वायुसेवा निगममा तीन दशक काम गरेका मदन खरेल दोस्रो पटक नेतृत्वमा पुगेका छन्। मन्त्रिपरिषद्ले खरेललाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ।
उनी नेतृत्वमा पुगेसँगै अहिलेसम्म निगमको ककपिट सम्हालेका महाप्रबन्धक सुगतरत्न कंसाकारको भूमिका बोर्ड सदस्यमा सीमित भएको छ। सरकारले कंसाकारलाई आठ महिना सेवा अवधि बाँकी हुँदै थन्काएको छ।
कंसाकारलाई पन्छाएर भर्खरै २४ अर्बमा दुइटा वाइड बडी जेट विमान खरिद गरेको निगमको आगामी उडान भर्ने जिम्मेवारी अब खरेलको काँधमा आइपुगेको छ।
खरेलले यो जिम्मेवारी भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चाहनाअनुसार पाएका होइनन्। पर्यटन मन्त्री रवीन्द्र अधिकारी निगममा एकै पटक दुई कार्यकारी पदमा नियुक्ति गर्न नहुने पक्षमा थिए। तर प्रधानमन्त्री केपी ओलीले खरेललाई अहिले नै निगमको नेतृत्व दिने चाहना राखेपछि अधिकारीले त्यसलाई मान्नै पर्यो।
प्रधानमन्त्री ओलीको निर्देशनअनुसार मन्त्रालयले खरेल नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद लगेको थियो।
‘महाप्रबन्धकको पदावधि आठ महिनामात्र छ, त्यसपछि नेतृत्व परिवर्तन गर्नु पर्नेमा मन्त्री हुनुहुन्थ्यो’ मन्त्रालय उच्च स्रोतले सेतोपाटीसँग भन्यो,‘तर माथिल्लो तहबाटै इच्छा भएपछि अहिले नै भयो।’
प्रधानमन्त्री ओलीले किन खरेललाई अहिले नै नियुक्त गर्न चाहे भन्ने प्रष्ट छैन। कंसाकारलाई वाइड बडी खरिद गर्दा अनियमितता भएकोदेखि अहिले दुइटा ठूला जहाज चलाउने कार्ययोजना तयार गर्न नसकेको, बजार सुनिश्चित गर्ने नसकेको आरोप लागेको छ।
लगातार जहाज थप्दै गएको निगमले बजार विस्तारमा भने चुनौती भोग्दै आएको छ। यही चुनौतीपूर्ण समयमा खरेल दोस्रो पटक कार्यकारी नेतृत्वमा पुगेका छन्।
निगमको अधिकृत हुँदै निर्देशकसम्मको पदमा काम गरेका खरेल महाप्रबन्धक हुनुअघि १० औं तह(निर्देशक) पदमा कार्यरत थिए।
महाप्रबन्धकसहित ३१ वर्ष एयरलाइन्समा काम गरेको अनुभव खरेलसँग छ।
२०७० मा खुला प्रतिस्पर्धाबाट निगमको महाप्रबन्धक भएका खरेल एक वर्षमै राजीनामा दिएर बाहिरिएका थिए। उनी महाप्रबन्धक हुँदा पोष्टबहादुर बोगटी मन्त्री थिए।
खरेलको यसपालाको नियुक्तिसँगै निगमको नेतृत्वमा उनी र कंसाकारबीच ‘म्युजिकल चेयरको’ दुई राउण्ड पनि पूरा भएको छ।
यसअघि कंसाकार कार्यकारी हैसियतमा रहँदा भ्रष्टाचारको आरोपमा पदच्यूत भएपछि खाली भएको नेतृत्वमा खरेल आएका थिए। खरेल बाहिरिएपछि कंसाकार आए। अहिले कंसाकारलाई पन्छाएर खरेल फेरि नेतृत्वमा आएका छन्।
खरेलको दोस्रो इनिङ भने चुनौतीले भरिपूर्ण छ।
अहिले निगम कठिन मोडबाट गुज्रिएको छ। आन्तरिक उडानमा ९ वटा जहाज भए पनि २ जहाजमात्र उडिरहेका छन्। ७ वटा जहाज विमानस्थलमा थन्किएका छन्। करोडौं मूल्यका जहाज खिया लाग्ने अवस्थामा पुगेका छन् भने अर्कोतिर आर्थिक अवस्था दयनीय बन्दै गएको छ।
त्यस्तै अन्तर्राष्ट्रिय उडानका लागि ठूला र नयाँ जहाज ल्याए पनि प्रवर्द्धन कमजोर हुँदा बजार हिस्सा सन्तोषजनक देखिएको छैन। एयरबसका दुइटा नयाँ ‘वाइड बडी’ जहाज, एयरबसकै दुइटा नयाँ ‘न्यारो बडी’ र एउटा बोइङको पुरानो ‘न्यारो बडी’ गरी पाँच जहाज अन्तर्राष्ट्रिय उडानमा रहे पनि बजार हिस्सा बढाउन र यात्रु आफूतिर आकर्षित गर्न निगम संघर्षरत छ।
खरेलका लागि सबैभन्दा ठूलो चुनौती नै असार र साउनमा निगमले किनेका दुई वाइड बडी जहाज सञ्चालन हो।
लामो दूरीमा उड्नु पर्ने २७४ सिटका ती जहाजले नयाँ गन्तव्यमा उडान अनुमति पाएका छैनन्। जापान, कोरिया र साउदी अरब उडान गर्ने व्यापारिक योजनासहित ल्याइएका ती जहाज अहिले पनि पूरानै छोटो दूरीका गन्तव्यमा उडिरहेका छन्।
न्यारो बडी जहाजले बोक्ने जति थोरै यात्रु बोकेर दैनिक उडान गर्दा ठूला जहाजलाई नाफा होइन प्रतिउडान १ लाखौं घाटा हुने गरेको निगमका अधिकारीहरूको भनाइ छ।
खरेल यस्ता जहाजको व्यवस्थापन सम्हाल्न आइपुगेका छन्, जुन किन्नै हुन्न भन्ने उनको राय थियो।
खरेलले निगमले अहिलेको व्यवस्थापन, यही संस्थागत संरचनामा वाइड बडी जहाज ल्याएर चलाउन सक्दैन भन्ने धारणा राखेका थिए।
निगमले वाइड बडी खरिदको प्रक्रियाअघि बढाएपछि उनले नेपाल साप्ताहिकसँगको कुराकानीमा भनेका थिए-ससाना समस्याका कारण एक न्यारो बडीको समेत उडान नियमित हुन नसकेको अवस्थामा वाइड बडी चलाउने क्षमता भइसकेको छैन।
त्यस्तै व्यवस्थापन वा रणनीतिक साझेदारबिना ठूला जहाजको बजार व्यवस्थापनमा एयरलाइन्स सक्षम हुननसक्ने उनको ठहर थियो।
नेपाल साप्ताहिकको २०७३ कात्तिक २१ को अंकमा उनले भनेका थिए- वाइड बडी जहाज र रणनीतिक साझेदार भित्र्याउने काम एकैपटक हुनुपर्छ। रणनीतिक साझेदार वा व्यवस्थापन करारमा दिने विकल्प हुन सक्छ। सँगसँगै लैजानुपर्छ, लहडमा अगाडि बढ्ने भन्ने हुँदैन। त्यसले दुर्घटना निम्त्याउँछ।
पहिले क्षेत्रीय स्तरमा साना जहाज उडाएर त्यसबाट व्यवस्थापन, छवि र वित्तीय अवस्था बलियो पारेपछिमात्र वाइड बडीमा जानुपर्ने उनले बताएका थिए। तत्काल न्यारो बडी जहाज ल्याएर अहिलेकै क्षेत्रीय बजार विस्तार गरी वित्तीय र व्यवस्थापकीय दख्खल राख्नु पर्ने उनको प्रतिक्रिया थियो।
उनै खरेल अहिले यस्तो निगमको नेतृत्वमा पुगेका छन्, जसले दुइटा वाइड बडी जहाज किनिसकेको छ र तिनको सञ्चालन राम्ररी गर्न सकेको छैन।
निगमको यो चुनौतीको व्यवस्थापन अब कसरी गर्ने? प्रश्न खरेलतिरै तेर्सिन्छ।
कार्यकारी अध्यक्ष भएपछि खरेलले सेतोपाटीसँग कुरा गर्दै तत्काल आफू आन्तरिक अध्ययनमा लाग्ने र केही समयभित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने बताएका छन्।
‘निगमले किनेका जहाज चलाउने र निगमलाई माथि पनि उठाउने अठोट र आँटका साथ म आएको छु,’ उनले भने।