नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अबको पार्टी नेतृत्व कोइराला परिवारको हुने दाबी गरेका छन्।
देशभरका पार्टी कार्यकर्ताहरूको माया र चाहना अनुसार नै कोइराला परिवारले पार्टीको नेतृत्व सम्हाल्ने उनले बताए।
बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री कोइरालाले भने,‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं।’
उनले देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा पाएको समेत दाबी गरे ।
कोइरालाले अब हुने महासमिति बैठकमा नयाँ विधान पारित गरिने समेत बताए। कम्तीमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रष्ट पारे।
चार वर्षपछि हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्दै उनले त्यसको लागि अब नयाँ रणनीति बनाएर अगाडि बढ्नुपर्ने बताए ।
‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।
कांग्रेसका दुई चुनौती रहेको भन्दै उनले अहिलेको सरकारमा दुई तिहाइको दम्भ छ भने अर्कोतिर कांग्रेसभित्रैकै संगठन गुट उपगुटमा ध्यान जानु जरुरी रहेको उनको भनाइ छ।
उनले देश संघीयतामा गएसँगै पार्टीभित्रको केन्द्रीकृत अधिकारलाई पनि विकेन्द्रीकृत गर्नुपर्ने बताए ।
‘सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’
वर्तमान सरकारले संघीयताको मर्मविपरीत केन्द्रीकृत शासन चलाइरहेको उनले आरोप लगाए ।
‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रीकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन।’