नेपाली कांग्रेसले संशोधित विधानको मस्यौदामा सुझाव संकलन गर्न सातै प्रदेशमा भेला गर्ने भएको छ।
महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान मस्यौदा संशोधन समितिले तयार पारेको पार्टीको संघीय विधानको मस्यौदाबारे सुझाव संकलन गर्न मंगलबारदेखि असोज १३ गतेसम्म प्रदेशका विभिन्न ठाउँमा केन्द्रीय नेताहरू सहभागी भएर सुझाव संकलन गर्ने कार्यक्रम छ।
देशभर १२ ठाउँमा भेला गर्न लागिएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका विधान मस्यौदा संशोधन समितिका प्रवक्ता रमेश लेखकले सेतोपाटीलाई बताए।
कर्णालीको सुर्खेत र प्रदेश ७ को धनगढीमा विधानबारे सुझाव संकलन गरिने उनले बताए। प्रदेश १ मा इलाम र विराटनगर, प्रदेश २ मा जनकपुर र वीरगंज, प्रदेश ३ मा काठमाडौं र धुलिखेल, प्रदेश ४ मा पोखरा र बाग्लुङ तथा प्रदेश ५ मा बुटवल र दाङमा सुझाव संकलन गरिने उनले बताए।
‘कर्णाली र ७ नम्बर प्रदेशमा एक/एक ठाउँमा मात्रै छलफल गर्छौं, अन्य पाँच प्रदेशमा दुई/दुई ठाउँमा छलफल गरिन्छ’, लेखकले सेतोपाटीसँग भने, ‘दुई दिनसम्म सुझाव संकलन गर्छौं।’
विधान छलफल तथा सुझाव संकलन कार्यक्रममा जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखले भाग लिन पाउँछन्।
‘प्रदेशबाट संकलन गरेको सुझावलाई समेटेर केन्द्रीय समितिमा पेश गर्छौं’, उनले भने, ‘केन्द्रीय समितिले पारित गरेपछि विधानलाई निर्णयार्थ महासमिति बैठकमा लैजान्छौं।’
कांग्रेसले मंसिर पहिलो साता काठमाडौंमा महासमिति भेला बोलाएको छ। विधान संशोधनका लागि कांग्रेसले केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरको संयोजकत्वमा छुट्टाछुट्टै उपसमिति बनाएको थियो।
ती समितिले संरचनादेखि आन्तरिक व्यवस्थापनको अध्ययन गरेका थिए। उपसमितिले दिलेन्द्रप्रसाद बडु, रमेश लेखक र आनन्द ढुंगाना सम्मिलित समितिलाई अध्ययन प्रस्ताव बुझाएको हो। उक्त प्रतिवेदनसहित एकीकृत मस्यौदा असोज ३ गते पास भएपछि सुझाव संकलन गर्न प्रदेश जाने बाटो खुलेको हो। कांग्रेसको प्रस्तावित विधानमा केन्द्रीय समिति १०३ देखि १३१ सदस्यीय बनाउने, सभापतिसहित ९ जना पदाधिकारी हुने, चार किसिमका सदस्यता वितरण गर्नेजस्ता विषय समेटिएका छन्।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्षको प्रस्ताव गरिएको छ। कार्यसमिति ३१ सदस्यीय बनाउने प्रस्ताव छ। ‘सभापतिमात्रै निर्वाचित गर्ने र अरु पदाधिकारी मनोनित गर्ने प्रस्ताव पनि छ। सभापतिसहित सबै पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव पनि छ’, लेखकले सेतोपाटीसँग भने, ‘सबै विकल्पमाथि प्रदेशमा छलफल गरिन्छ। यही हुनुपर्छ भनेर हामीले भनेका छैनौं, सबैको सुझाव समेटेर विधान बनाउँछौं।’
केन्द्रीय समिति १०१, १२१, १३१ सदस्यीय बनाउने प्रस्ताव छन्। महामन्त्री खड्का संयोजकत्वको समितिले एक महिना लगाएर प्रस्तावित संघीय विधान तयार गरेको हो। उक्त विधानमा सभापतिलाई थप अधिकार दिन लागिएको भन्दै आलोचना हुन थालेको छ। कांग्रेसले केन्द्रीय सदस्यदेखि पदाधिकारी संख्या बढाउन लागेको छ। अहिले केन्द्रीय समिति ८५ सदस्यीय छ भने सभापतिसहित पदाधिकारी सात सदस्यीय छ। सदस्यता विवाद हल गर्न साधारण र क्रियाशील सदस्यताबाहेक विशिष्ट सदस्य पनि थप गर्नु पर्नेमा पनि छलफल भइराखेका छन्।