मदिरा सेवनकर्तालाई परिचयपत्रको व्यवस्थाको पक्षमा वकालत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
रावलको प्रस्तावमा मदिरा बेचबिखनको समय निर्धारण गरिनुपर्ने, मदिरा खरिदबिक्रीको समय र स्थान तोकिनुपर्ने उल्लेख छ।
प्रस्तावमा भनिएको छ – मदिरा जहाँ जहिलेपनि जुनसुकै उमेर समूहका लागि विक्री वितरण गर्ने कार्यले मानव स्वास्थ्यमा पर्ने नकरात्मक असर घटनाउन र मदिरा सेवनका कारण हुने अपराध न्यूनिकरण गर्ने निर्देशिका बनाई व्यवस्थित गर्न आवश्यक भएको छ।
रावलको प्रस्तावमा नेकपाकै कृष्णभक्त पोखरेल र वसन्त कुमार नेम्वाङले समर्थन जनाएका छन्। उनले भारत लगायत विश्वभर मदिरा बेचबिखन गर्ने स्थान, समय र उमेर समूह तोकिएको उदाहरण समेत प्रस्तुत गरेका छन्। उनले उत्पादनमा न्यूनिकरण र बेचबिखन व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।
प्रस्तावको प्रतिरक्षा गर्दै रावलले मदिरा सेवन कर्तालाई परिचयपत्र दिनुपर्ने धारणा अगाडि सारेका छन्। ‘मदिरा सेवनकर्तालाई परिचयपत्र दिने व्यवस्था गरियोस्’, रावलले प्रस्तावको पक्षमा वकालत गर्दै लेखेका छन्, ‘मदिरा सेवन परिचयपत्र विना मदिरा सेवन गर्न नपाइने व्यवस्था गरियोस्।’
उनले मदिरा सेवनकर्ताले सेवन गर्न पाउने मात्रा समेत तय गर्न माग गरेका छन्। घरेलु मदिराको गुणस्तरको मापदण्ड तोक्नुपर्ने उनको धारणा छ।
सार्वजनिक महत्वको प्रस्तावमा संसदको पूर्ण बैठकमा छलफल हुनेछ। छलफलमा उद्योग वाणिज्य मन्त्री र गृहमन्त्रीले जवाफ दिनेछन्।