गृहमन्त्री रामबहादुर थापाले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताएका छन्।
बुधबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालसामानका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको तर्क गरे। पछिल्लो समय देशभरि बढिरहेका बालिका बलात्कार र हत्याका घटनाबारे छलफल गर्न समितिले गृहमन्त्रीलाई डाकेको थियो।
‘बलात्कारको सामाजिक र आर्थिक कारण पनि हेर्नुपर्छ। सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ। त्यो पुँजीवादले जन्माएको हो,’ गृहमन्त्री थापाले भने,'पुँजीवादले नाफा कमाउने मालको रूपमा महिलाको प्रयोग गर्छ। दिदीबहिनीलाई बस्तुका रूपमा प्रयोग गर्छ। महिलालाई यौनतृप्तिको साधन बनाउने काम पुँजीवादले गरेको हो।'
उनले अनियन्त्रित मदिराको सेवनले पनि बलात्कारको अर्को कारण भएको तर्क गरे। 'मदिराजन्य सामग्रीबाट एकातिर ४०/४५ अर्बको राजश्व उठ्छ तर अर्कातिर खर्बौं खर्च हुन्छ। मदिरा नियन्त्रण गर्न उद्योग मन्त्रालय पनि सकारात्मक छ। हामीले त्यतातिर सोच्नुपर्छ,' थापाले भने,'मदिरा लिमिटमा खाए औषधि हो बढी खाए विष हो।'
उनले इन्टरनेटमा पाइने अश्लील सामग्रीका कारण पनि बलात्कार बढेको उल्लेख गर्दै त्यसलाई रोक्नु जायज भएको दाबी गरे। गृह मन्त्रालयले केही दिनअघिमात्र पोर्न साइट बन्द गर्न निर्देशन दिएको थियो।
गृहमन्त्री थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा छिटै पक्राउ पर्ने दाबी पनि गरे। निर्मलाको हत्या भएको दुई महिनासम्म पनि घटनामा संलग्न पक्राउ परेका छैनन्।
केही घटनालाई राजनीतिकरण गरिएको भन्दै थापाले असन्तुष्टि पोखे।
'अपराधलाई राजनीतिकरण गर्नु हुन्न। अपराध रोक्नु हामी सबैको दायित्व हो,' गृहमन्त्री थापाले भने।