सरकारका काम र पार्टी सञ्चालनप्रति असन्तुष्ट नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिको छुट्टै भेला डाकेका छन्।
बिहिबारको संसद बैठकमा प्रतिपक्षी नेताजसरी सरकारविरूद्ध खनिएका नेता नेपालले शुक्रबार स्थायी समिति सदस्यहरूसँग छलफल गर्न भेला डाकेका हुन।
नेपालले छलफलको विषय नतोके पनि चियापानका लागि निम्तो दिएको नेकपाका स्थायी समिति सदस्य मणि थापाले सेतोपाटीलाई बताए।
‘सबै स्थायी समिति डाक्नुभएको भन्ने खबर छ’, थापाले भने, ‘तीन बजेका लागि निम्तो आएको छ।’
स्थायी समिति बैठकमा भैराखेको ढिलाइ र नेकपाको निर्णय प्रक्रियाबारे छलफल कार्यक्रम भएप नि चियपानको नाम दिइएको नेता नेपाल निकट एक सदस्यले सेतोपाटीलाई बताए।
‘बैठक भन्ने शब्द राख्न मिलेन, परामर्शभन्दा अर्को अर्थ लाग्ला भनेर चियापान भनियो’, ती सदस्यले भने, ‘तर यो दसैँ तिहारको शुभकामना दिने चियापान होइन।’
नेकपाका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल देशबाहिर भएका बेला नेता नेपालले डाकेको भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
दुबै अध्यक्षबाहिर गए पनि कसैलाई कार्यवाहक जिम्मेवारी दिइएको छैन।
प्रदेश संयोजक र अध्यक्ष चयन गर्दा अध्यक्षद्वय ओली र दाहालले एकलौटी गरेकोप्रति नेता नेपाल असन्तुष्ट छन्।
यो पनि पढ्नुस्:
उनले आफ्नो असन्तुष्टि स्थायी समिति सदस्यहरूसँग राख्न लागेको नेकपाका एक नेताले सेतोपाटीलाई बताए।
नेपाल अफ्रिका सम्मेलनमा सहभागी हुन घाना गएका बेला असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा गएका बेला कुनै निर्णय नगर्ने वचन दिएर तोडेको भन्दै नेपाल असन्तुष्ट रहेको ती नेताले बताए।
‘सचिवालयको काम निर्णय गर्ने होइन’, नेपाललाई उदृत गर्दै उनले भने, ‘सचिवालयले तयार गर्ने प्रस्तावमा स्थायी समितिले निर्णय गर्नु पर्ने हो। कार्यकारी स्थायी समितिलाई छल्न खोजिएको छ।’
जेठ ३ गते पार्टी एकता भएपछि असार २१ गते एकपटक मात्र नेकपाको स्थायी समिति बैठक बसेको छ। उक्त बैठकमा नियमवालीको विषयमा मात्र छलफल भएको थियो। ओली र दाहालले छापामार शैलीमा काम गरेको भन्दै नेता नेपाल असन्तुष्ट रहेको ती सदस्यले बताए।
‘सहमति भनेको ओली र प्रचण्डको मात्र सहमति हो?’, ती सदस्यले भने, ‘ईश्वर पोखरेल र झलनाथ खनालले जोड दिएपछि प्रदेशका अध्यक्ष र संयोजक चयन गरियो भन्ने जवाफ दिइएको छ।’
प्रदेश संयोजक र अध्यक्ष चयनप्रति नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसमेत असन्तुष्ट छन्।
श्रेष्ठले संयोजक र अध्यक्ष चयनको प्रक्रियामा असन्तुष्टि जनाएका हुन्।