प्रतिनिधि सभाका सांसदहरूले निजगढमा रूख काटेर विमानस्थल सहर बनाउन नहुने बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँग गरेको छलफलमा सांसदहरूले निजगढ विमानस्थल बनाउँदा काटिने रूख, त्यसको आर्थिक सम्भाव्यता र प्रक्रियाका बारेमा प्रश्न गरेका थिए।
समिति सदस्य तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले निजगढमा रूख काटेर सहर नबनाउन सुझाव दिए।
‘तपाईंहरू पहिला यो विमानस्थल नेपाललाई आवश्यक छ र निजगढमै बन्नुपर्छ भन्ने कुरा राम्ररी भन्नुस्। हाम्रोमा अध्ययन कम, हतारमा निर्णय अनि पछि पछुताउने र भविष्य नसोच्ने प्रवृत्ति छ,’ नेपालले भने, ‘विमानस्थलका लागि ठाउँ ओगट्नु पर्छ। आवश्यकमा विमानस्थल बनाउनुपर्छ। तर वन मासेर सहर बनाउनु हुन्न।बनाउने हो भने सिमरामा वीरगञ्ज चिनी कारखानाको जग्गा छ त्यहाँ बनाए हुन्छ।’
नेकपाका अर्का नेता भीम रावलले विमानस्थल बनाउँदा समग्र पक्ष हेर्नु पर्ने बताए।
‘पर्यावरण हेर्नुपर्छ।अरू सबै कुरा हेर्नुपर्छ। तर अहिले उठेको ठूलो प्रश्न पारदर्शिताको हो। प्रक्रियामा पनि आँखा चिम्लिने मिल्दैन,’ रावलले भने।
कांग्रेस सांसद दीव्यमणि राजभण्डारीले पनि रिपोर्ट बनाउने र ठेक्का दिने काम भने फटाफट हुने तर काम ढिला हुने प्रवृत्तिमा आफूहरूको प्रश्न रहेको बताए।
उनले निजगढ विमानस्थल बनिसकेपछि कसरी चल्छ भनेर पनि प्रश्न गरे।
‘जतिबेला ल्याण्डमार्कले अध्ययन गर्यो। त्यतिबेला पोखरा र भैरहवाको कुरा भएको थिएन। अहिले नेपालगञ्जबाट दिल्ली उडान हुन्छ भनेको छ। फेरि नेपाल आउने टिकट पनि महंगो छ,’ यस्तो अवस्थामा निजगढ कसरी हब बन्न सक्छ?’ राजभण्डारीले सोधे।
कांग्रेसका अर्का सांसद नारायण खड्काले निजगढको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) मै रिपोर्टमै कमजोर रहेको बताए।
‘६० पारामिटरमा अध्ययन हुनु पर्नेमा २०/२२ प्यारामिटरमा मात्र अध्ययन भएको छ,’ खड्काले भने, ‘यो रिपोर्ट विश्लेषणात्मकमात्र छ।’
कांग्रेसकी सांसद पुष्पा भुषालले फास्ट ट्रयाक पनि निजगढ जोड्नु पर्ने बताइन्।
‘वन काटिएपछि विमानस्थल बन्नेमा अझै शंका छ, सम्भाव्यता अध्ययन नगरी रूख काट्न किन हतारो?,’ भुषालले सोधिन्।
जवाफमा मन्त्री अधिकारीले विस्तृत डिजाइन बन्दा जति रूख काट्न आवश्यक हुन्छ त्यतिमात्र रूख काटिने बताए।
‘ट्रान्जिट एयरपोर्ट भएकाले होटेल बनाउने हो तर सहर बनाउने सोचेका छैनौं,’ मन्त्री अधिकारीले भने, ‘छिट्टै नै विमानस्थलका लागि ठेक्का आह्वान गर्दैछौं। डेभलपरले यो भए बनाउँछु यो भए आउँछु भनेर सर्त राख्न सक्छ,त्यतिबेला पनि संसदीय समिति छलफल हुन्छ।’
उनले राम्रा डेभलपर आएनन् र सरकार सन्तुष्ट भएन
सरकार-सरकारबीच मोडलमा जाने बताए।
‘ल्याण्डमार्कको रिपोर्ट अध्ययन भइरहेको छ। रिपोर्ट अध्ययन भएपछि हाइलाइट सार्वजनिक छ,’ अधिकारीले भने, ‘डिपिआर बनाउँदा पनि कम्पनी चेक गर्छौं। सबै प्रक्रिया पारदर्शी बनाउँछौं।’
उनले ८ हजार हेक्टर क्षेत्रफलमा चार किल्ला तोकिएको र त्यसैको इआईए बनाइएकाले त्यसमा २४ लाख रूख परेको बताए।
‘८ हजार हेक्टर भनेको अप्रोज र कन्ट्रोल क्षेत्र हो। तर अहिले सबै रूख काट्न लाग्यो भनेर अतिरञ्जना भएको छ,’ मन्त्री अधिकारीले भने,‘ हामीले भने मध्यम रूख सार्ने प्रविधि ल्याएर भए पनि काम गर्नुपर्छ।’
उनले हब विमानस्थल बनाउन लागेकाले जिरो भिजिविलिटीमा ल्याण्ड गर्न मिल्ने गरी धावनमार्ग बनाउने बताए।
‘सानो र ठिकै विमानस्थल बनाउने भने भैरहवाले पुग्छ। हामीले त जिरो भिजिविलिटीमा ल्याण्ड गर्न मिल्ने विमानस्थल बनाउन लागेका हौं,’ अधिकारीले भने, ‘बम्बई र हङकङमाजस्तो समुद्र नभएकाले २५ सय हेक्टर अप्रोच चाहिएको हो।’