झापाको चन्द्रगढस्थित एक सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले १० नम्बर वडाको खरखरे सेकुवा कर्नरमा छापा मार्दा नगदसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार तासको खालवाट १ लाख ३९ हजार ७ सय ७० रुपैयाँ बरामद भएको छ। गोप्य सूचना आउनेवित्तिकै छापा मारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालले बताए।
प्रहरीले पक्राउ गरेकाहरु धेरैजसो भद्रपुरका छन्। प्रहरीले भद्रपुर–७ का शिव चौधरी, भुवन लगट, देवा प्रधान, ८ नम्बर वडाका प्रकाश श्रेष्ठ, २ नम्बर वडाका आसवहादुर तामाङ्गलाई पक्राउ गरकोे छ। यस्तै, भद्रपुर ३ नम्बर वडाका दिलीप सब्बा, १० नम्वर वडाका आइत साङपाङ र जनकलाल राजवंशीलाई पनि प्रहरीले तासको खालबाट रंगेहात पक्राउ गरेको छ।
यस्तै, विर्तामोड नगरपालिका वडा नम्बर ४ का लेखनाथ खत्री पनि पक्राउ परेका छन्। प्रहरी देख्नेवित्तिकै आत्तिएर भाग्ने क्रममा खत्रीको खुट्टामा चोट लागेको छ। उनलाई उपचारार्थ मेची अन्चल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख ढकालले जानकारी दिए।
प्रहरी उपरिक्षक ढकालका अनुसार कानुनतः कारबाहीका लागि र थप अनसन्धान गर्न पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यलयमा झापामा राखिएको छ।