नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विवाद बढ्दो क्रममा रहेको बताएका छन्।
शुक्रबार राजधानीमा स्थायी समिति सदस्यको भेला गर्दै नेता नेपालले सामूहिक रूपमा जानु पर्नेमा पार्टीभित्र एकलौटी निर्णय भइरहेको बताए।
उनले सरकारको प्रदर्शन पनि निराशाजनक रहेको बताए।
'सरकारका विषयमा जनस्तरमा व्यापक आलोचना छ तर पार्टीमा यसबारेमा छलफल नै भएको छैन,' नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'पार्टीको बैठक लामो समयसम्म भएको छैन। प्रदेशका इन्चार्ज र अध्यक्ष तोक्ने कुरा पनि सचिवालयले प्रस्ताव बनाएर स्थायी समितिमा लैजाने सहमति थियो। त्यसो भएन। विवाद बढ्दो छ, कसरी जाने भनेर सोच्नुभएको छ?'
बैठकमा झन्डै तीन दर्जन नेताहरू सहभागी थिए। इन्द्रेणी फुडल्याण्डमा भएको कार्यक्रममा नेताहरू आउनेजाने क्रम २ घन्टा बढी चलेको थियो।
नेता नेपालको असन्तुष्टि सुनेका स्थायी समिति सदस्यले उनलाई ढाडस दिएका थिए। लामो समयसम्म नेतृत्वमा बसेको नेता भएकाले छलफलबाट असन्तुष्टिको समाधान निकाल्न आफूहरूले सुझाव दिएको एक नेताले सेतोपाटीलाई बताए।
'सरकारको प्रदर्शन राम्रो छैन। पार्टीको सांगठनिक संरचनाको कार्ययोजना बनाइएको छैन। असन्तुष्टिले विद्रोह गर्नुपर्ने अवस्था आउनुभएन भन्यौं,' ती नेताले भने।
स्थायी समिति सदस्यका कुरा सुनेपछि नेपालले आफूले लिखित रूपमै असन्तुष्टि पार्टीका बैठकमा राख्ने बताए।
भेलामा उपस्थित नेता वामदेव गौतमले आवश्यक परेका नेता नेपाल बाहिर भएका बेला प्रदेशका इन्चार्ज र अध्यक्ष तोकिएको बताएका थिए।
अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि सांगठनिक एकीकरण र कार्यविभाजन निर्णय स्थायी समितिले गर्ने भन्ने निर्णयअनुसार नेपाल फर्किएपछि गरौंला भनिएको तर त्यसको पालना नभएको बताएका थिए। उनले विधि र पद्दतिमा पार्टी नचलेकोमा आफ्नो पनि असन्तुष्टि रहेको बताएका थिए।
हिजोमात्र संसदको बैठकमा सरकारको चर्को आलोचना गरेका नेता नेपालले नेकपाका दुबै अध्यक्ष विदेशमा रहेका बेला स्थायी समिति सदस्यको भेला गरेका हुन्।