पाँच महिनाअघि बनेको नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चुलिएसँगै नेताहरूबीच वाकयुद्ध सुरू भएको छ।
बरिष्ठ नेता माधवकुमार नेपालले बिहीबारको संसद बैठकमा सरकारका कामकारबाहीको चर्को आलोचना गरे। त्यसपछि शुक्रबार स्थायी समिति सदस्यको भेला डाकेर उनले पार्टी सञ्चालन पद्दतिप्रति पनि असन्तुष्टि जनाए।
जवाफमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाबाटै त्यसलाई नेपालको ‘कुण्ठा’मात्र भएको बताए।
नेकपाका एक स्थायी समिति सदस्यले सेतोपाटीसँग कुरा गर्दै पार्टी पद्दतिको कुरा उठाएलगत्तै लाञ्छना लगाउने काम सुरू हुने गरेको बताए।
‘हामीले पद्दति भएन भनेको हो’, ती सदस्यले भने, ‘प्रधानमन्त्री व्यक्तिगत तहमा उत्रनुभयो।’
उनले पार्टी सञ्चालन र सरकार सञ्चालनको विषयमा स्थायी समिति सदस्यले आग्रह गरेपछि नै नेपालले मुख खोलेको बताए।
शीर्ष नेताहरूबीचको छेडछाडमा दुबै पक्षका दोस्रो तहका नेताहरू पनि सहभागी भएका छन्।
नेकपाको नेताहरूबीचको वाकयुद्ध सामाजिक सञ्जालमा समेत पुगेको छ। प्रधानमन्त्री ओलीसँगै विदेश भ्रमणमा रहेका प्रमुख सल्लाहकार बिष्णु रिमालले माधव नेपालको स्थायी समिति भेलालाई इगिंत गर्दै लेखे, ‘मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरू गरिन्छ!’
स्थायी समिति सदस्य योगेश भट्टराईले ट्विटरमै रिमाललाई जवाफ दिए। उनले लेखे- सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरू पतन भएको देख्दा रहेछन! कठै दोषी चस्मा!
नेकपाका वरिष्ठ नेता नेपालले पार्टी सचिवालयवाट प्रदेश नेतृत्व टुंग्याएको र त्यो आफूहरूलाई मान्य नहुने बताएसँगै सत्तारुढ पार्टी भित्र विवाद चुलिएको छ। उनले पार्टी विधि र पद्दति अनुसार नचलेको पनि आरोप लगाएका छन्।
पार्टी नेतृत्वप्रति आलोचनात्मक रहेका स्थायी समिति सदस्य घनश्याम भुषालले सचिवालयले महत्वपुर्ण निर्णय गर्न नसक्ने बताए।
‘अहिले निर्माण भएको सचिवालय स्वयम्भूजस्तै आफैं उत्पत्ति भएको हो’, भुषालले भने, ‘यो पार्टीमा निर्णय गर्ने वैधानिक निकाय होइन। स्थायी समितिले गरेका निर्णयहरूको कार्यान्वयन दैनिक हिसाबले हेर्ने हो। किनभने स्थायी समिति दैनिक बस्दैन।’
उनले पार्टी एकताका बेला एकाएक सचिवालय र महासचिव उत्पत्ति भएको बताए।
‘सचिवालय यस्तो बेला बनाइयो, निर्वाचन आयोगमा पार्टी दर्ता गर्नु पर्ने थियो’, भुषालले भने, ‘त्यो बेला प्रश्न गर्दा पार्टी एकता विरोधी भइने अवस्था थियो।’
सचिवालय भित्र पनि छलफल हुने अवस्था छैन रहेछ भन्ने देखिएको उनले बताए।
‘निर्णयमा सचिवालयकै सदस्यहरूको विरोध रहेको भनेपछि त्यहाँ पनि छलफल हुँदैन रहेछ,’ उनले भने ‘सचिवालयको नाममा निर्णय गरिने रहेछ भन्ने थाहा भयो।’
असोज ५ गते बसेको नेकपाको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो। नेता नेपाल आफू विदेश रहेका बेला स्थायी समितिले गर्ने काम सचिवालयले निर्णय गरेको भन्दै असन्तुष्ट छन्।
नेकपाकै सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसमेत पार्टीको सांगठनिक एकीकरण र कार्यविभाजनको निर्णय स्थायी समितिबाट हुने भनिए पनि सचिवालयबाट भैरहेकोप्रति असन्तुष्ट छन्। तर उनले सार्वजनिक रूपमा सचिवालयका विषयमा टिप्पणी गरेका छैनन्।