कर्णालीका नागरिकको मानसिकतालाई योजनावद्ध तरिकाले गरिब बनाइदिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्।
सुर्खेतमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विभिन्न समयमा कर्णालीमा कार्यक्रम लिएर आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गैरसरकारी संस्थाहरूले जनतालाई गरिब भएको महशुस गराएको आरोप लगाए।
‘विभिन्न समयमा कर्णालीमा आएका एनजिओ, आइएनजिओहरूले चाउचाउ खान सिकाए, कुहिएको चामल खान सिकाए र यहाँको जनतालाई गरिब भन्दै फोटो खिचेर डलर कमाए,’ मुख्यमन्त्री शाहीले भने, ‘अनि यहाँका जनताको दिमागमा गरिबी भन्ने शब्द घुसाए।’
मुख्यमन्त्री शाहीले खाद्यान्न तथा लगाउने लुगाहरू समेत आफैं उत्पादन गर्ने कर्णालीवासी गरिब नभएको दाबी गरे।
उनले भने, ‘चरेसको थालमा मार्सी चामलको भात खाने, गाउँमै कपास खेती गरेर ठेटुवाको कपडा बनाएर लगाउने, आलु, फापर र कोदो अनि सिमी खाने हाम्रो पुर्खा कसरी गरिब भयो ?’
विदेशबाट आयातित कपडा, विदेशबाट नै ल्याइएको खाद्यान्न प्रयोग गर्नेहरूलाई धनी भन्नु उचित नभएको भन्दै मुख्यमन्त्री शाहीले आफैंले उत्पादन गरेको आलु, फापर, कोदो खाने कर्णालीवासीलाई गरिब भन्नु दुखद् भएको बताए ।
उनले केही विज्ञहरूका कारण कर्णालीमा श्रम गर्ने बानी हराएको समेत आरोप लगाए। ‘अर्गानिक उत्पादन गर्ने र त्यसबाट पर्याप्त मुनाफा कमाउने आधार हुँदाहुँदै युवालाई परनिर्भर बनाउन थालिएको छ,’मुख्यमन्त्री शाहीले भने, ‘तर अब कर्णाली प्रदेश सरकार यो वर्ष युवाहरूका सपना सुन्न चाहन्छ, ती सपनाहरूलाई अर्को वर्षबाट कार्यान्वयन गर्न चाहन्छ।’