नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले काँग्रेसको अहिलेको अवस्था तार चुडिएको टेलिफोनको जस्तो भएको टिप्पणी गरेका छन् ।
कास्कीका कार्यकर्तालाई पोखरामा सोमबार सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका केसीले नेतृत्व तहबाट जे कुरा आयो त्यही ठिक हो भन्ने प्रवित्ति कार्यकर्ता तहमा देखिएको बताए।
उनले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न नसक्नु कायरता तल्ला तहका नेतामा देखिको बताउँदै कायर कहिल्यै पनि नेता बन्न नसक्ने ठोकुवा गरे।
उनले हुकुमी पाराले कांग्रेस अगाडि बढ्न नसक्ने बताउँदै नेतृत्वले सच्चाएर पार्टीलाई अगाडि बढाउन नसके कांग्रेसको अवस्था नेपालको प्रजापरिषदको अवस्था सरह हुने बताए। इतिहास बोकेको पार्टीलाई नीति, नेतृत्व र संगठनलाई सामुहिक रूपमा अगाडि बढाउनुपर्ने बताए।
नेता केसीले पार्टीलाई सामुहिक पद्धतिमा चलाउनु अहिलेको आवश्यकता भएको भन्दै पार्टीको अनुशासन र संसदीय समितिको गठन महाधिवेशनबाट नै नेतृत्व हुनुपर्ने बताए।
नेता केसीले अहिलेको सरकार दुई तिहाईको भए पनि जनचाहना अनुसार काम गर्न असफल भएको दाबी गरे। सरकार शान्ति सुरक्षा स्थापना गर्न भन्दा पनि बलात्कारीको संरक्षणमा लागेको उनको आरोपा थियो।