कर्णाली प्रदेश सभाको बैठक असोज २३ गते बस्ने भएको छ।
गत साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बैठक यही असोज २३ गते दिउँसो १ बजेका लागि तोकिएको हो।
सरकारले प्रदेश सभालाई पर्याप्त ‘विजनेश’ दिन नसक्दा संसद बैठक गएको साउन २५ गतेबाट अनिश्चितकालका लागि स्थगित भएको थियो। कर्णाली प्रदेश सभाबाट यसअघि जम्मा २० वटा विधेयकमध्ये १३ ओटा प्रमाणीकरण भैसकेको कर्णाली प्रदेश सभाका निमित्त सचिव दिनेश भट्टले जानकारी दिए ।
उनका अनुसार संसद्मा यसअघि पेश भएका अन्य पाँचवटा विधेयकहरू समितिमा दफावार छलफलका लागि गएका छन्।
अब असोज २३ गतेदेखि बस्ने संसद बैठकमा तीमध्ये दुइटा विधेयक टेवुल हुने उनले बताए। निमित्त सचिव भट्टका अनुसार हाल सामाजिक विकास समितिमा दुइटा विधेयक छलफलका लागि गएका छन्। कर्णाली प्रदेश सहकारी विधेयक–२०७५ रसामाजिक संघ/संस्था सञ्चालनसम्बन्धी विधेयक उक्त समितिमा छन् ।
संसद्को विधायन समितिमा जिल्ला सभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक–२०७५, गाउँ तथा नगरसभा सञ्चालन गर्न बनेको विधेयक–२०७५ र कर्णाली प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ छलफलका लागि रहेका छन् ।
यस्तै, कर्णाली प्रदेश सभाको बैठक यसअघि सिँचाइ डिभिजन कार्यालयको सभाहलमा सञ्चालन हुँदै आएकोमा असोज २३ गते बस्ने बैठक भने संसदको आफ्नै भवनमा बस्ने सम्भावना रहेको सभामुख राजबहादुर शाहीले बताए ।
‘हामीले अबको बैठक नयाँ भवनमा बस्नेगरी तयारी गर्न निर्माणकर्तालाई निर्देशन दिएका छौं,’ उनले भने, ‘त्यसका लागि सिँचाइ डिभिजनमा रहेको साउण्ड सिष्टमलाई नयाँ भवनमा जोडेर भए पनि बैठक बसाल्ने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु।’
यदि अर्को बैठक नयाँ भवनमा नै बस्ने भन्ने कुराको टुंगो भने नलागेको सभामुख शाहीले बताए।
‘हामी चाँडोभन्दा चाँडो नयाँ भवनमा बैठक सुरू गर्न आतुर छौं,’ उनले भने, ‘प्राविधिक समस्या नआएको खण्डमा असोज २३ गते बस्ने बैठक साविकको शैक्षिक तालिम केन्द्र अर्थात् नयाँ संसद भवनमै हामी सुचारु गर्नेछौं।’