सातदिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मंगलबार पोखरा फर्किएका छन्।
चीनको हाइनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो। सोमबार नेपाल फर्किएका उनी मंगलबार पोखरा आइपुगेका हुन्।
पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले चीन भ्रमणबाट देखिने गरी कुनै पनि आर्थिक सहायता नल्याएको बताएका छन्।
‘विदेश गएपछि कति पैसा ल्यायो भनेर सोध्छन् । के/के सम्झौता भयो भनेर सोध्छन्, उनले भने–तर मैले केही पनि ल्याएको छैन। उनीहरूलाई गण्डकी प्रदेशको बारेमा जानकारी मात्रै गराएको छु। गभर्नरको टोली नोभेम्बरमा पोखरा आएका बेला केही सम्झौता होलान्।’
विशेषगरी गण्डकी प्रदेश र हाइनान प्रदेश तथा पोखरा महानगर र हाइकावो नगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने विषयमा सहमति भएको उनले बताए। यसबाहेक टेक्निकल इन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति नोभेम्बरमा हुने उनले बताए। तर औपचारिक सम्झौता भने पोखरामा नै हुनेछ । त्यसका लागि नोभेम्बर १० र ११ तारिखमा हाइनानका गभर्नरसहितको टोली पोखरा आउनेछ।
हाइनानका निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भएको उनले बताए । विशेषगरी अगार्निक खेती, नेपालको पर्यटन, उर्जा, औषधि कारखानामा उनीहरू लगानीका लागि इच्छुक देखिएका मुख्यमन्त्री गुरुङले बताए। अरु देशको नक्कल गरेर आफ्नो ठाउँको विकास नहुने उनको भनाइ छ।