नेपाली कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाएको छ। ३२ वर्ष काटेका विद्यार्थी १२ औं महाधिबेशनदेखि उम्मेदवार उठ्न पाउने छैनन्।
आइतबार मध्यरातमा सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा उमेर हदबन्दी लगाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीलाई बताए।
‘नेविसंघको ११ औं महाधिबेशनबाट पारित ३२ वर्षे उमेर हदको विद्यमान व्यवस्था नै कायम राख्ने पार्टीले निर्णय गरेको छ’, शर्माले भने।
नेविसंघले दुई वर्षअघि ११ औं महाधिबेशन गर्दा १२ औं महाधिबेशनदेखि उमेर हद लागू गर्ने विधानमै उल्लेख गरेको थियो। नेविसंघले हालै तयार गरी पार्टीमा बुझाएको संघीय विधानमा पनि ३२ वर्षे उमेरहद लागू गर्ने बुँदा छ।
नेविसंघका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश ३२ वर्ष कटेका छन्।
‘नेविसंघ विधानलाई अन्तिम रुप दिन असोज २५ गते फेरि केन्द्रीय समिति बैठक बस्छ’, शर्माले भने। नेविसंघ विधानलाई कांग्रेसले पास गर्न ढिलाइ गर्दा तोकिएको समयमा अधिबेशन हुन सकेको छैन।
कांग्रेसले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउन सकिनेमा सरकारले विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिएकोमा पनि विरोध गरेको छ।
‘स्वदेशी पूँजीमै बूढीगण्डकी बनाउन सकिन्छ भन्ने खाका देउवा सरकार कै पालामा बनेको छ। विना प्रतिस्पर्धा गेजुवालाई दिनू सरकारको उपयुक्त निर्णय होइन। सरकारले निर्णय सच्याउनुपर्छ’, शर्माले भने।
सरकार शान्ति, सुरक्षा कायम गर्न चुकेको, पेट्रोलियम पदार्थ, खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको कांग्रेसको आरोप छ। निजगढमा कुनै पनि विवाद नगरी विमानस्थल बनाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
‘आवश्यकताभन्दा एउटा पनि बढी रुख काटेर सरकारले गलत काम गर्नु हुन्न’, बैठकका निर्णयबारे शर्माले भने, ‘आवश्यकताभन्दा बढी रुख काट्ने कुरालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’