नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाउने निर्णयबारे नेपाली कांग्रेसका नेताहरू विभाजित भएका छन्।
आइतबार मध्यरात सकिएको केन्द्रीय समिति बैठकमा पर्याप्त छलफलबिना प्रक्रिया मिचेर उमेर हद लगाएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
‘बैठकमा छलफल हुने एजेण्डा जानकारी दिइएन। अकस्मात् सहमहामन्त्री प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षे उमेरहद राख्ने वा नराख्ने एजेण्डा पेश गर्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘नेविसंघले पेश गरेकोभन्दा फरक विधान सहमहामन्त्रीले पेश गरेपछि बरिष्ठ नेतासहित नेताले विधान नपढी छलफल गर्न सकिन्न, प्रतिक्रिया दिन सकिन्न भन्नुभयो। तर त्यसको सुनुवाइ नभइकनै सभापति शेरबहादुर देउवा पक्षले जसरी पनि ३२ वर्षे उमेर हद लगाउने निर्णय गर्यो।’
बरिष्ठ नेता पौडेलसहित नेताहरूले ३२ वर्षे उमेर हद लगाउनेमा भन्दा प्रक्रियामा फरक मत राखेका उनले बताए।
उमेर हद लगाउने नै हो भने नेविसंघका नेताहरूसँग व्यापक छलफल गरी सहमतिबाट निर्णय गर्नु पर्नेमा उनीहरूको धारणा थियो।
‘नेविसंघको विधानबारे छलफल गर्न असोज २५ मा पुन: बैठक बोलाइएको छ। उमेर हद लगाउने एउटा धारा मात्रै छलफल नै नगरी किन पास गर्नुपर्यो?’ ती केन्द्रीय सदस्यले भने, ‘बरिष्ठ नेता, पूर्वमहामन्त्रीहरूले छलफलका लागि समय माग्दा पनि नदिने सभापतिको नियत के हो?’
नेविसंघका पूर्वसभापति एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि ३२ वर्षे उमेर हद लगाउने ‘पपुलर’ निर्णय गरेर महाधिवेशन भाँड्ने खेल भइरहेको आरोप लगाए।
‘नेविसंघलाई पार्टीले हस्तक्षेप गर्यो, संस्थागत व्यवहार गरिएन,’ पौडेलले सेतोपाटीसँग भने, ‘दशैंको मुखमा, क्याम्पस बन्द भएको बेला कसरी नेविसंघको अधिबेशन गर्न सकिन्छ? अधिवेशन नगर्ने र आफूअनुकूल हुने गरी तदर्थ समिति बनाउन चलखेल भयो।’
नेविसंघले तयार गरेको अधिवेशन कार्यतालिका तथा विधान कार्यान्वयनमा ल्याउन पार्टी नेतृत्वले सहयोग नगरेको पौडेलको आरोप छ।
‘नेविसंघको संगठन भद्रगोल बनाउने र तदर्थ समिति बनाउने गरी चलखेल भएको छ। हामी यसको विरोधमा छौं,’ उनले भने, ‘उमेर हदको विषय गम्भीर होइन। तर सबै नेतासँग समझदारीमै निर्णय गरेको भए हुन्थ्यो।’
नेविसंघलाई महाधिवेशन गर्न नदिने र पार्टीभित्र समझदारीको वातावरण खलबल्याउन खोजिएकोमा उनले आपत्ति जनाए।
३२ वर्षे उमेर हदबारे नेविसंघकै नेताहरू पनि विभाजित भएका छन्।
महामन्त्री कुन्दनराज काफ्लेले उमेर हद लगाउने निर्णय दु:खद भएको बताए।
‘विद्यार्थीको कुरा उठाउने, समस्या समाधान गर्न सक्छ भन्दै उमेर हद लगाउने निर्णय गरेको हो भने पार्टीमा पनि ७० वर्षे उमेर हद लगाउनुपर्छ,’ काफ्लेले सेतोपाटीसँग भने, ‘३२ वर्षे उमेर हद लगाउनु दु:खद हो।’
उमेर हद लगाएर सभापति देउवा र सहमहामन्त्री महत नै अधिवेशन गराउने पक्षमा नरहेको काफ्लेले आरोप लगाए।
‘उमेर हद लगाएर पनि तोकिएको समयमै महाधिवेशन गरिएन भने दुइटा नेविसंघ केन्द्रीय समिति बन्छ,’ उनले भने, ‘कुन्दन काफ्ले नेतृत्वको र देउवा नेतृत्वको नेविसंघ।’
पार्टी र नेविसंघ नै कब्जा गर्ने नियतले देउवा र महतले उमेर हदको लगाएको आरोप काफ्लेले लगाए।
नेविसंघ सभापति नैनसिंह महरले दुई वर्षअघि सकिएको नेविसंघ ११ औं महाधिवेशनकै बेला १२ औं महाधिवेशनदेखि उमेर हद कार्यान्वयनमा ल्याउने गरी विधानमै उल्लेख गरेको व्यवस्थालाई संघीय विधानमा पनि सभावेश गरिएकोले अनावश्यक विवाद गर्न नहुने बताए।
‘हामी ३२ वर्षे उमेर हदबारे बोलेका थिएनौं। पार्टीले उमेर हद लगाउने निर्णय गर्यो। पार्टी सर्वोच्च निकाय भएकोले उसले गरेका निर्णय मान्नुपर्छ,’ सभापति महरले भने, ‘३२ वर्ष कटेका विद्यार्थी नेतालाई पार्टीले उचित व्यवस्थापन गर्नुपर्छ।’
उनले यो कुराले केहीलाई तत्काल फाइदा नभए पनि संगठनको दीर्घकालीन हित हुने बताए।
‘केही साथीहरुलाई पीरमर्का पर्नसक्छ। तर त्यही बहानामा महाधिवेशन रोकिन्न,’ महरले भने, ‘तोकिएको समय (कात्तिक १६) मै महाधिवेशन हुन्छ।’