कर्णाली प्रदेशको संसद् बैठक अवरूद्ध भएको छ।
करिब दुई महिनापछि मंगलबार सुरू भएको कर्णाली प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरूद्ध गरेको छ ।
सरकारले बजेट सार्वजनिक गरेको चार महिना बितिसक्दा पनि रातो किताब उपलब्ध नगराएको र संसदलाई सरकारले ‘विजनेस’ दिन नसकेको भन्दै प्रतिपक्षी दलले बैठक अवरूद्ध गरेको हो ।
सभामुख राजबहादुर शाहीले संसद सुरू भएको जानकारी गराउने क्रममै प्रतिपक्षी दलका सांसद दिनबन्धु श्रेष्ठले समय मागेर सरकारले संसदलाई बन्धक बनाउन खोजेको, बजेट सार्वजनिक भएको चार महिनासम्म पनि रातो किताब उपलब्ध नगराएको, संसदलाई ‘विजनेस’ दिन नसकेको र मन्त्रीहरू भाषणमा मात्रै सीमित रहेको भन्दै आलोचना गरेका थिए।
सांसद् श्रेष्ठले सरकारका तर्फबाट मुख्यमन्त्रीले यी विषयहरूको जवाफ संसदमा नदिँदासम्म बैठक चल्न नदिने बताएका छन्। प्रतिपक्षी दलको अवरोधपछि सभामुखले बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
यस्तै, कर्णाली प्रदेश सभाको बैठक मंगलबारदेखि नयाँ संसद् भवनमा बस्न थालेको छ।
संसद् भवन सुर्खेतस्थित शैक्षिक तालिम केन्द्रको हललाई मर्मत गरेर बनाइएको छ। यसअघिका बैठकहरू सिँचाइ डिभिजन कार्यालयको हलमा सञ्चालन हुँदै आएको थियो।